अनुसन्धानमा लगानी नभएको होइन, अनुसन्धान नभएको हो 

अनुसन्धानमा लगानी नभएको होइन, अनुसन्धान नभएको हो 

नेपालमा अध्ययन-अनुसन्धानको अवस्था कस्तो छ र प्रकाशित जर्नल कस्ता छन्, यसबारे कुराकानी गर्नुअघि दुई उदाहरण दिन्छु। 

२०५९ साल अन्तिमतिरको कुरा हो। गौतम बुद्धको महापरिनिर्वाणपछि दाहसंस्कार गरी बाँडिएका अस्थिधातु राखी निर्माण गरिएका आठ वटा स्तुपमध्ये रामग्राम पनि एउटा हो। तर यो स्तुपको अवस्थितिका सम्बन्धमा निर्क्योल गर्न सकिएको छैन।

भारतका विभिन्न ठाउँमा यो स्तुपको अवस्थिति देखाइएजस्तै नेपालको नवलपरासीस्थित उज्जैनी गाउँमा रहेको एक बौद्ध स्तुपको अवशेषलाई पनि प्राचीन रामग्राम स्तुप नै भन्ने र प्रचार गर्ने गर्दै आएको पाइन्छ। यस्तो अवस्थामा पुरातात्विक उत्खनन् गरी प्राप्त तथ्यको आधारमा निर्क्योल गर्ने हो। 

यसको जिम्मा पुरातत्व विभागका पुरातत्वविद् शुक्रसागर श्रेष्ठले पाए। म त्यो बेला पुरातत्वको विद्यार्थी थिएँ। काम सिक्ने हिसाबले ट्रेन्चमा पस्ने अवसर मिलेको थियो। उत्खनन् कार्य हुँदै थियो। त्यो बेला मेरा धेरै प्रश्नहरुको जवाफ दिने क्रममा प्राचीन रामग्राम स्तुप यही हुनसक्ने सम्भावना प्रवल भएको र थप तथ्यहरुको संकलनपछि रामग्रामको औपचारिक घोषणा गर्न सकिने भनेका थिए। तर अचानक उत्खनन् कार्य रोकियो र पुरातत्वविद् श्रेष्ठ यत्तिकै फर्कनुपर्यो।

चाहे इतिहास, पुरातत्व होस् या आर्थिक विकास, वातावरण, शिक्षा हर कुनै विषयमा अनुसन्धान गर्न योग्य स्थान हो नेपाल। तर यहाँ धेरै कुराको अध्ययन-अनुसन्धान भएकै छैन।

उत्खनन् कार्य बीचमा नै रोकिनुको खास कारण थियो, निर्क्योलमा पुगेर घोषणा कार्य भयो भने त्यस कामको ‘क्रेडिट’ पुरातत्वविद् शुक्रसागर श्रेष्ठले पाउने डर। रामग्रामको उत्खननसँग उनको नाम जोडिनुभन्दा बरु उत्खनन् कार्यलाई नै हठात् रोकिदिनु उचित ठानेछन्, प्रतिस्पर्धी सहकर्मीहरुले। 

यसलाई आफू पनि घर नबनाउने र अरुलाई पनि बनाउन नदिने बाँदर प्रवृत्ति भन्न सकिन्छ। अन्वेषण कार्य कतिसम्म प्रभावित हुन पुग्छन् भन्ने कुराको यो एउटा राम्रो उदाहरण हो। रामग्राम स्तुपको उत्खनन् पछि पनि भयो तर शुक्रसागर श्रेष्ठले काम गर्न पाएनन्। 

अर्को उदाहरण पनि शुक्रसागर श्रेष्ठकै दिन्छु। ३० हजार रुपैयाँको फेलोसिपमा उनले नेपाल र एसिया अनुसन्धान केन्द्र (सिनास)बाट कीर्तिपुरसम्बन्धी अनुसन्धान कार्य सम्पन्न गरे। सो अनुसन्धान प्रतिवेदन पछि सिनासबाट पुस्तकको रुपमा प्रकाशित भयो।

अनुसन्धान भनेको पहिले भइसकेको अनुसन्धान कार्यभन्दा अगाडि बढेर गर्ने थप अध्ययन हो। पछि नेपाल पर्यटन बोर्डले ३ लाख रुपैयाँ खर्च गरेर कीर्तिपुरसम्बन्धी नै अर्को अनुसन्धान गरायो। नयाँ अनुसन्धान प्रतिवेदनमा सिनासबाट प्रकाशित कीर्तिपुरसम्बन्धी उक्त पुस्तकबाट हुबहुसम्म पनि सार्न सकेको पाइएन। उक्त प्रतिवेदनको सन्दर्भ सामग्रीमा सिनासको उक्त प्रकाशनको उल्लेख पनि सही ढंगले गर्न सकेन। हाम्रो अनुसन्धानको पारा यस्तो छ। 

अध्ययन-अनुसन्धानका लागि नेपालमा सम्बन्धित निकायले ध्यान नै नदिएको टिप्पणी खुबै सुन्न पाइन्छ। तर स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारले इतिहास, संस्कृति तथा पुरातत्वको अध्ययन-अनुसन्धान तथा अन्वेषणको लागि बजेट विनियोजन गर्दै नगरेको भने होइन। प्रत्येक वर्ष अध्ययन-अनुसन्धानमा खर्च हुने गरेको पाइन्छ तर आसेपासेलाई सो बजेट पोस्ने कार्यमा नै सीमित हुने गरेको देखिन्छ र त्यस्ता अनुसन्धानहरु प्रकाशनमा ल्याउन लायक नभएपछि अनुसन्धान प्रतिवेदन दराजमा नै थन्किने गरेको पाइन्छ। अझ त्यस्तो प्रतिवेदन अन्यत्र संस्था वा सोही संस्थामा पुनः अर्को साल बुझाएर अनुसन्धान नामको बजेटलाई व्यापक दुरुपयोग गर्ने गरेको पाइन्छ। 

सरकारी निकाय नै उस्तै 

मेरो पृष्ठभूमि पत्रकारिता हो। कास्कीको एक ठाउँमा करोडौं वर्ष पुरानो रुखको फोसिल पाइएको एउटा समाचार मैले स्पेस टाइम दैनिकमा प्रकाशित गरें। सो फोसिलको अध्ययन गर्न पुरातत्व विभागका पुरातत्वविद्को टोली पुगेको थियो भने अध्ययनपछि यो आफ्नो विषय क्षेत्र नभएरको भनेर फर्केको थियो।

समाचार चर्चाको विषय भएपछि थप समाचारका लागि खानी तथा भूगर्भ विभागमा पुग्दा त्यहाँका तत्कालीन महानिर्देशकले आफूहरुसँग नसोधी समाचार प्रकाशित गरेको भनेर गुनासो गरे। सो समाचार पुरातत्व विभागबाट प्राप्त भएको थियो। उक्त विषय पुरातत्वसँग नभएर आफूहरुसँग सम्बन्धित भनेर जिकिर गर्ने ती महानिर्देशकसँग थप जानकारी केही पनि रहेनछ। विभाग आफै गएर किन अनुसन्धान गर्दैन भन्ने प्रश्नमा बजेट नै नभएको जवाफ पाइयो।

त्यो बेला काठमाडौंदेखि पोखरासम्मको बस भाडा दुई सय पचास रुपैयाँ मात्र थियो। अनुसन्धानमा अनुरक्त हुने जो कोहीले व्यक्तिगत रुपमा पनि खर्च गरेर आफ्नो विषयमा अध्ययन गर्न सकिने कुरा हो। तर त्यस्तो तत्परता नदेखिनुलाई जागिरे मानसिकता मात्रै भन्न सकिन्छ जुन अन्यत्र क्षेत्रमा पनि पर्याप्त मात्रामा देख्न पाइन्छ।

सरकारी अनुसन्धान केन्द्रहरुमा बजेट नभएर होइन काम गर्ने ढंग नभएर र जाँगर नभएर अनुसन्धान नभएका हुन्। 

उत्खनन् भएकै छैन

इतिहास, संस्कृति, पुरातत्व तथा बौद्ध धर्म मेरो औपचारिक पढाइ हो। औपचारिक पढाइ हुँदैमा सबैले अनुसन्धान क्षेत्रमा नै लाग्नुपर्छ भन्ने अनिवार्य छैन। औपचारिक शिक्षापछि त्यसलाई कति निखार्ने भन्ने प्रश्न व्यक्ति विशेषमा भर पर्छ। 

नेपाली इतिहास, संस्कृति तथा पुरातत्व विषयमा स्नातकोत्तरका क्रममा मैले लुम्बिनीको पुरातात्विक अध्ययनमाथि थेसिस गरें र पछि ‘लुम्बिनीः ऐतिहासिक तथा पुरातात्विक अध्ययन’ शीर्षकमा पुस्तक प्रकाशित भयो। 

लुम्बिनीको डिस्कभरी जर्मन पुरातत्वविद् ए. फुहररबाट सन् १८९६ मा भएको कथन स्थापित छ। लुम्बिनीको खोजी गर्न उनी यस स्थलमा आइपुग्नुअघि नै रुख काट्दै गरेका मजदूरहरुले अशोक स्तम्भ भेट्टाइसकेका थिए। उनीहरुलाई यसबारे कुनै भेउ नै थिएन। त्यस क्षेत्रका बडाहाकिम खड्गशमशेर राणा उक्त ढुंगाको खम्बा उखेल्ने उद्योग गर्दै थिए। यस अवस्थामा डा. फुहररले देख्नु भनेको चान्स डिस्कभरी हो।

नेपालमा प्रायः पुरातात्विक कुराहरु सोधखोजबाट भन्दा चान्स डिस्कभरीबाट प्राप्त हुने गरेको पाइन्छ। हालै पाटन, मंगलबजारमा भीमसेन मन्दिरको अगाडि पाइएको राजा अंशुवर्माको अभिलेख पनि खोजेर भेटाएको नभएर चान्स डिस्कभरी नै हो। 

केही समयअघि सिनासको एउटा टोली दोलखाको सामाजिक, सांस्कृतिक तथा ऐतिहासिकताको अध्ययन गर्न फिल्ड भिजिटमा गयो। स्थानीय स्रोत जुटाएर सिनासलाई दस लाख रुपैयाँ दिएको थियो तर फितलो अध्ययनका कारण सिनासको प्रतिवेदन प्रकाशनमा आउन सकेन।

सिनास पहिले यस्तो थिएन। यो संस्थाबाट केही दशकअघि पनि दोलखाको अध्ययन गरी एउटा गहकिलो पुस्तक प्रकाशनमा ल्याइसकेको थियो। राष्ट्रिय इतिहास लेखनको जिम्मेवारी बोक्ने र सो अनुसार थुप्रै काम गरिसकेको संस्था अहिले विगतमा जस्तो छैन। यही भएर यहाँ आजभोलि खासै काम देखिन्न। 

सिनासमा मेरो प्रवेश २०६१ सालतिर भएको हो। मेरो विषय क्षेत्र इतिहास, संस्कृति तथा पुरातत्व भए पनि सिनासमा मेरो काम अलि फरक थियो।

इतिहास, संस्कृति, पुरातत्व आदि विषयमा सिनाससँग कुनै कार्यक्रम नै नभएको अलि लामो समय नै भइसकेको थियो। म संलग्न कार्यक्रम विदेशी संस्थाको हो र मेरो तलब पनि उतैबाट आउँथ्यो। सिनासमा बसेर धेरैसँग संगत गर्न पाइयो र उनीहरुको अनुसन्धानको अनुभव पनि सुन्न पाइयो। अनुसन्धानका अनुशासनहरु हुन्छन्, मलाई यतैको अनुसन्धान पद्दति मन पर्यो।

सिनासको काम र प्रतिष्ठा विगत भइसकेको थियो। यसको साख कसरी गिर्यो भन्ने कुरा मैले पनि नजिकबाट अनुभव गर्न पाएँ। कर्मचारीतन्त्र हावी, पुच्छरले टाउको हल्लाइदिने खालको थियो। बिहान र बेलुका मुलढोका खोल्न र बन्द गर्न बेग्लाबेग्लै कर्मचारीको व्यवस्था थियो र तिनीहरुको अरु काम हुँदैनथ्यो। त्यत्ति काम गर्न पनि नमान्ने र चुप नै लागेर बस्न मनपराउने कर्मचारीहरु पनि थिए। चाहिनेभन्दा बढी कर्मचारी भएर पनि अस्तव्यस्त भएको हो।

अनुसन्धान गर्ने प्राध्यापकहरु अनुसन्धान कार्यको अभावमा चिया खाने, घाम ताप्ने र गफ गरेर दिन कटाउँथे। अनाहकमा भइरहेको खर्च मात्रै कटाउने हो भने पनि अनुसन्धानका लागि बजेटको जोहो गर्न सकिन्थ्यो।  

प्यासन हुने हो भने छैन ठूलो खर्च

नेपालमा अनुसन्धान गर्न बजेटभन्दा पनि प्यासनको अभाव देख्छु म। चाहे इतिहास, पुरातत्व होस् या आर्थिक विकास, वातावरण, शिक्षा हर कुनै विषयमा अनुसन्धान गर्न योग्य स्थान हो नेपाल। तर यहाँ धेरै कुराको अध्ययन-अनुसन्धान भएकै छैन।

ठूलो बजेटले मात्रै अनुसन्धान कार्य हुन्छ भन्ने पनि छैन। सानो-तिनो खर्चले पनि ठूल्ठूला काम हुनसक्छ। यहाँ खाँचो देखिएको आफ्नै विषय क्षेत्रमा प्यासनको मात्रै हो।

खस साम्राज्यकालीन बौद्ध धर्मबारे अनुसन्धान गर्ने सोचको विकासपछि कहीँ-कतैबाट सहयोग पाइन्छ कि भनेर स्रोत खोजेको त थिएँ तर कतैबाट पाइनँ। अन्ततः आफ्नै खर्चमा स्थलगत अध्ययन गरें। त्यही लगानीको प्रतिफल हो, धेरैले सराहना गरेको मेरो पुस्तक ‘खस साम्राज्यमा बौद्ध धर्मको उत्थान र पतन’। 

बजेट पायो भने अनुसन्धान कार्य गर्ने नत्र चुप लागेर बस्ने प्रवृत्तिले अनुसन्धानको संस्कृति नै बसालेन। बजेट पाएपछि मात्रै काम गर्ने संस्थाहरुमा त्रिवि, नेपाल एकेडेमी लगायतका संस्थाहरु हुन्। तर नेपालको इतिहास, संस्कृतिको अध्ययन-अनुसन्धान गर्ने तथा धेरै योगदान दिने काम संशोधन-मण्डल लगायतका संस्थाहरु र त्यस्तै निजी वा व्यक्तिगत प्रयासबाट हुँदै आएको कुरालाई नकार्न मिल्दैन। 

राम्रो बजेट हुँदैमा राम्रो काम हुँदैन भन्ने दृष्टान्त अनेकौं पाइन्छन्। काठमाडौंमै बसेर हाँसोमा उडाउन सकिने राम जन्मभूमि अयोध्या भनिएको चितवनमा माडीको अध्ययन गर्न बुर्कुसी मारेर पुग्छन् हाम्रा अनुसन्धानकर्ता। यसले पनि जनाउ दिन्छ, हाम्रो अनुसन्धानको स्तर। 

अध्ययनअनुसन्धान र  मिडिया

इतिहास, संस्कृति, पुरातत्व तथा धर्म दर्शनका कुराहरुलाई मिडियाले कभरेज त गर्छ तर ज्यादाजसो उल्टोपुल्टो नै हुने गरेको पाइन्छ। लिच्छवी भाषा र संस्कृत लिपिमा रहेको अभिलेख भन्नेजस्ता समाचार वा लेखहरु मिडियामा प्रकाशित हुनुको अर्थ हो, सञ्चारकर्मीहरुमा यस विषयमा साक्षर छैनन्। 

यस अवस्थामा स्रोत व्यक्ति हुन खोज्नेले अलि होस पुर्याउनुपर्छ। यस सम्बन्धमा पत्रकारिताको शिक्षण संस्थाले पनि ध्यान दिनुपर्छ। वास्तवमा मिडिया क्षेत्रमा पाठक वा दर्शकको मन जित्ने र लामो समयसम्म क्रेडिट पाउने सामग्री इतिहास, संस्कृति, पुरातत्व लगायतका विषय नै हो।  

प्रमाणित गराइमाग्न अनुसन्धानमा खर्च 

बिडम्वनाकै कुरा हो, अनुसन्धान गर्नेसँग पैसा छैन, पैसा भएकोसँग अनुसन्धानको ढंग छैन।

आजभोलि प्रायः सरकारी तथा स्थानीय निकायहरुले आफ्नो ठाउँको अध्ययन-अनुसन्धान गराउने भनेर बजेट राख्ने गरेको पाइन्छ। तर ती बजेटहरु ज्यादाजसो अनुसन्धानमा भन्दा बजेट बोकेर बस्ने पदाधिकारी वा कर्मचारीहरुले सुनेका दन्त्यकथा वा लोकमा प्रचलित कुराहरुलाई लिपिवद्ध गर्ने कामभन्दा माथि उठ्ने गरेको पाइँदैन।

कीर्तिपुरमा कीर्तिलक्ष्मी नामको पात्र ऐतिहासिक होइन तर उनै पात्रलाई स्थापित गराउनका लागि नगरपालिका जति खर्च गर्न पनि तयार छ। अन्यत्र पनि यस्तै छ। अनुसन्धानकर्तालाई बजेटको बलमा दबाब दिनु अनुचित कुरा हो। वास्तवमा यो प्रवृत्ति इतिहासको अध्ययन-अनुसन्धानको नाममा भद्दा मजाक हो। त्यस्तो मजाकलाई पनि इतिहासको नाममा खर्च गर्नु भनेको राज्यस्रोतको दोहन मात्रै हो। 

अध्ययन-अनुसन्धान गराउने र बजेटको व्यवस्था गर्नेमा विभिन्न जातीय, धार्मिक तथा सामाजिक संघ-संस्थाहरु पनि हुन्। तर उनीहरुको पारा पनि आ-आफ्नो सम्प्रदायको गौरव गाथा गाउन लगाउनेभन्दा भिन्न छैन। बजेटको लोभमा अनुसन्धानबाट बिच्किनेहरु पाइन्छन्। यस्तो पाराले अनुसन्धान हुँदैन। 

एउटै विषयको अध्ययन-अनुसन्धान उही संस्थामा वा अन्यत्र पटक-पटक बुझाएर बजेट कुम्ल्याउने गरेको पनि पाइन्छ। नयाँ अनुसन्धानकर्ताको नाममा राखिएको अनुसन्धानवृत्तिमा पुरानाहरुले छोप्नु वा छोराछोरी वा श्रीमतीको नाममा प्रस्तावपत्र पेस गर्न ल्याउने दिग्गज विद्वानहरु पनि पाइन्छन्। यस्ता विकृतिहरुले नयाँ अनुसन्धानकर्तालाई अगाडि बढ्न दिँदैन।

यस अवस्थामा नयाँबाट केही भएन भनेर टिप्पणी गर्नु मनासिव कुरा होइन। कोही नयाँ व्यक्ति अगाडि बढ्यो भने सौताको रुपमा देख्ने अग्रजहरु पनि पाइन्छन्। 

अनुसन्धान कार्यमा हाइपोथेसिसहरु प्रमाणित नहुन पनि सक्छ। प्रमाणित नहुनु पनि एक खालको अनुसन्धान नै हो र त्यसलाई पनि उपलब्धि मान्नुपर्छ तर हाइपोथेसिस कस्तो खालको हो भन्ने कुरा पहिल्यै पर्गेल्ने क्षमता हुनुपर्छ। यसका लागि अनुसन्धानमा कार्यमा सम्वेदनशील भएका व्यक्तिहरुको संस्था हुनुपर्छ र त्यसमा दाताको हस्तक्षेप हुनुहुँदैन।  

(बसन्त महर्जन लेखक तथा अन्वेषक हुन्। इतिहास, संस्कृति तथा पुरातत्व र बौद्ध अध्ययन क्षेत्रमा अनुसन्धान र लेखनमा सक्रिय महर्जनका १० वटा पुस्तक प्रकाशित छन्। महर्जनसँग उकेराकी प्रजु पन्तले गरेको कुराकानीमा आधारित।)

माघ २८, २०७८ शुक्रबार ०७:१०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।