ठगीमा धरौटी निस्किएका गुन्डा नाइके पुन हत्या प्रयासमा जेल परे

ठगीमा धरौटी निस्किएका गुन्डा नाइके पुन हत्या प्रयासमा जेल परे

दाङ : साझेदार बनाउँछु भनेर लिएको पैसा फिर्ता दिनुको साटो उल्टै धम्की दिएको आरोपमा पक्राउ परेका दाङ घोराहीका गुन्डा नाइके विकास पुन जेल परेका छन्। ५० लाख ठगेर काठमाडौँमा लुकेर बसेका घोराही १५ रतनपुरका ४० वर्षीय पुनलाई काठमाडौँमा पक्राउ गरी दाङ पठाएको थियो प्रहरीले।

ठगी मुद्दामा अदालतले धरौटीमा छोडे पनि अदालतकै थुनुवा पुर्जीको आधारमा उनलाई घोराही कारागार पठाइएको जिल्ला प्रहरी कार्यालय दाङका निमित्त प्रहरी प्रमुख मुकुन्द रिजालले बताए।

विकासविरुद्ध ज्यान मार्ने उद्योग अन्तर्गतको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ। दाङको देउखुरी जिल्ला अदालतले पुनलाई ५ वर्ष कैद हुने फैसला सुनाएको थियो। उनी त्यसविरूद्ध सर्वोच्च गएका थिए। ठगी मुद्दामा पुन २ लाख धरौटी तिरेर छुटेका थिए।

दाङ जिल्ला अदालतले पुन विरुद्धको ठगी मुद्दामा बिहीबार भएको थुनछेक बहसमा उनलाई धरौटीमा छोड्न आदेश दिएको थियो। अदालतका जिल्ला न्यायाधीश हिमलाल बेलबासेको एकल इजलासले पुनसँग सो रकम धरौटी मागेपछि उनी धरौटी बुझाएर मुक्त भए लगत्तै पक्राउ परेका थिए।

ठगी मुद्दामा पुनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो( सिआईबी)ले  काठमाडौँको सुन्धारास्थित होटेलबाट पक्राउ गरेको थियो। काठमाडौँबाट दाङ ल्याएपछि जिल्ला प्रहरी कार्यालय दाङले २५ दिन हिरासतमा राखेर ठगीमा अनुसन्धान गरेको थियो।

ठगी प्रकरणमा साङ्ग्रिला डेभलेपमेण्ट घोराहीका बैङ्क म्यानेजर सुदर्शन विष्ट, घोराही १८ का मसिनाका निर्माण व्यवसायी वसन्त कुँवर, घोराही १५ सहिद गेटका रोशन दाहाल,  पाठशाला एजुकेसन घोराही १५ का सञ्चालक दीपक न्यौपानेको खाता प्रयोग गरेर ३० लाख रुपैयाँ पुनको पैसा निकालेको प्रहरी अनुसन्धानबाट खुलेको थियो।

५० लाख ठगीमा दाङबाट भागेर काठमाडौंमा लुकेर बसेका गुन्डा नाइके पुन पक्राउ

बैङ्क म्यानेजर सुदर्शनले आफ्नो बैङ्क गार्ड र दीपकको खाता प्रयोग गरेर पैसा निकाल्न सहयोग गरेको प्रहरीले जनाएको छ। त्यस्तै इट्टा पोल्नका लागि बसन्तले कोइला लगेका व्यवसायी रोशनलाई आफ्नो पैसा आउन लागेको भन्दै  उनकै खाता प्रयोग गरेर पैसा निकाल्न लगाएको प्रहरी अनुसन्धानबाट खुलेको छ। 

कपिलवस्तुको बाणगंगा ४ का तिलक थापाले ४९ लाख ५० हजार ठगी गरेको भन्दै गत पुसमा विकासविरुद्ध जिल्ला प्रहरी कार्यालय दाङमा उजुरी दिएका थिए। राप्ती नदीमा नदीजन्य पदार्थ (ढुङ्गा, गिट्टी, बालुवा) को काम गर्दा आफूले दिएको रकम फिर्ता नगरी विकास भागेको तिलकको दाबी गरेका थिए ।

गत वैशाख २६ मा उक्त रकम विकासले सापटी लिएको तिलक दाबी गर्छन्। खोलामा लगानी गर्दा फाइदा हुने भन्दै उनले उक्त रकम लिएका थिए। विकास एमालेका कार्यकर्ता हुन्। राजनीतिको आडमा उनी आपराधिक क्रियाकलापमा लागेको प्रहरी बताउँछ।

माघ २७, २०७८ बिहीबार २०:५५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।