राष्ट्रिय अनुसन्धान विभागको जासुस लुटेराको आरोपमा समातिए

काठमाडौँ : प्रहरी बनेर २ जना व्यक्तिलाई होटलको कोठामा लगेर लुटेको आरोपमा राष्ट्रिय अनुसन्धान विभागका सूचक पक्राउ परेका छन्। प्रहरी बनेर ठगी गरेको आरोपमा महानगरीय प्रहरी वृत्त बौद्धले सुजन मिश्रलाई पक्राउ गरेको हो।
महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता दिनेश मैनालीका अनुसार उनले माघ २५ गते कुशल ब्यांङ्केट अगाडी दुई जना व्यक्तिहरू चिया पसलमा चिया खाई रहेको अवस्थामा प्रहरी भन्दै धम्की दिएर लागु औषध कारोबारी भएको भन्दै बौद्धमा रहेको एक होटलको कोठामा लगेका थिए।
उनले कोठामा लगेर उनीहरूको साथमा रहेको ६० हजार रुपैंया, सामसुङ मोबाइल, आइफोन सहित तीन वटा मोबाइल लुटेका थिए। सो घटनाबारे जानकारी पाएपछि महानगरीय प्रहरी वृत्त बौद्धको टोलीले उनलाई पक्राउ गरेको थियो।
प्रहरीले उनको साथबाट १० हजार रुपैयाँ, लुटिएको दुवै मोबाइलसँगै मिश्रको नाममा राष्ट्रिय अनुसन्धान विभागबाट सूचकको परिचय पत्र समेत बरामद गरेको थियो। विभागले गोप्य सूचना दिनका लागि सूचकहरू परिचालन गर्ने गरेको छ। यस्ता व्यक्तिलाई जासुसको रूपमा चिनिन्छ।
माघ २७, २०७८ बिहीबार २०:२९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।