प्रदेश सांसद बराबर सम्मान पाउने गण्डकी रत्न’ सम्मानका लागि आठ जनाको दावेदारी : उद्योगी, व्यवसायीदेखि रेस्लरसम्मले दिए आवेदन

पोखरा : गण्डकी प्रदेश सरकारले प्रदेशमा विभिन्न क्षेत्रमा विशेष योगदान पुर्याएका विशिष्ट व्यक्तिलाई ‘गण्डकी रत्न’ विभूषणबाट तीन जनालाई सम्मान गर्ने निर्णय गरेसँगै आठ जनाले दावेदारी पेस गरेका छन्।
प्रदेश सरकारले विशेष योगदान पुर्याएका मध्येबाट तीन जनालाई सम्मान गर्ने उद्देश्यले चालु आर्थिक वर्षमा २५ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो। विभूषणका लागि कास्कीका तीन, स्याङ्जा र तनहुँका दुई-दुई र लमजुङका एक जनाले आन्तरिक मामिला मन्त्रालयमा निवेदन दिएका छन्।
सरकारले प्रदेशमा विभिन्न क्षेत्रमा विशेष योगदान पुर्याएका विशिष्ट व्यक्तिलाई ‘गण्डकी रत्न’ विभूषणबाट सम्मान गर्नका लागि गत २६ पुसमा मन्त्रिपरिषद् बैठकबाट विशिष्ट व्यक्ति सम्मान गर्नेसम्बन्धी कार्यविधि २०७८ स्वीकृत गरेसँगै सामाजिक विकास मन्त्रालयले ४ माघमा १५ दिने सूचना जारी गर्दै आवेदन माग गरेको थियो।
सरकारले शिक्षा, स्वास्थ्य तथा खेलकुद, कृषि तथा सहकारी, उद्योग पर्यटन, वातावरण, पूर्वाधार विकास तथा विपद् व्यवस्थापन, भाषा संस्कृति, सार्वजनिक प्रशासन लगायतका क्षेत्रमा योगदान पुर्याएका व्यक्तिलाई सम्मान गर्ने योजना बनाएको छ।
मन्त्रालयले आवेदन गरेपछि पर्यटन, खेलकुद, समाज सेवा, साहित्य, भाषा, संस्कृति क्षेत्रमा काम गरेका आठ जनाले निवेदन दिएको मन्त्रालयका उपसचिव यामप्रसाद सुवेदीले जानकारी दिए।
यस्ता छन् ‘गण्डकी रत्न’का आकाङ्क्षी
प्रदेश सरकारले ‘गण्डकी रत्न’ बाट विभूषित हुने विशिष्ट व्यक्तिलाई सांसदको हैसियत बराबरको सेवा सुविधा प्रदान गर्ने छ। आवेदन दिनेमा कास्कीका मदन कुमार गुरुङ, कोविदशरण उपाध्याय र चन्द्रकान्त बराल छन्। त्यस्तै लमजुङका भरतबहादुर विसुराल, स्याङ्जाका डिलबहादुर गुरुङ र प्राडा. यामबहादुर पौडेल र तनहुँका रेसमबहादुर विक र काशीराम न्यौपानेले आवेदन दिएका छन्।
कास्कीका मदनकुमार गुरुङले खेलकुद क्षेत्रमा योगदान पुर्याएको भनेर निवेदन दिएका छन्। उनले २०७६ मा आदर्श खेल व्यक्तित्व अवार्ड पाएका थिए। नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घले उनलाई अवार्ड प्रदान गरेको थियो।
कोविदशरण उपाध्यायले बोक्सीविरुद्धको अभियानको रूपमा निवेदन पेस गरेका छन्। उपाध्याय ‘मान्छे बोक्सी हुन्न’ कृतिका रचनाकार हुन्। कास्कीका अर्का दाबेदार चन्द्रकान्त बराल सामाजिक तथा व्यवसायी क्षेत्रमा सक्रिय ब्यक्तिन हुन्। उनको परिकल्पनामा पोखराको पुम्दीकोटमा विशाल महादेश शिव मूर्ति निर्माण भइरहेको छ। उनी बराल फिड इन्डष्ट्रिज सहित अन्य विभिन्न उद्योग व्यवसायमा आबद्ध छन्। उनी बैंकर्स समेत हुन्।
त्यसै गरी लमजुङका रेस्लर भरत बहादुर विसुरालले पनि गण्डकी रत्नमा दावेदारी प्रस्तुत गरेका छन्। नेपालमा रिङ रेस्लिङ भित्राएर प्रवर्द्धनमा लागेका उनी ‘द हिमालयन टाइगर’ नामले परिचित छन्। उनले लमजुङमा विदेशी रेस्लर ल्याएर अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगिता समेत गरेका थिए। उनले नेपालमै फरक विद्याको रूपमा हेरिएको रेस्लिङको खेलाडीकारुपमा आफूलाई दावेदरका रूपमा उभ्याएका छन्।
तनहुँका काशीनाथ न्यौपानेले भाषा, संस्कृति, साहित्य, कला, समाजसेवामा योगदान गरेको भनी निवेदन दिएका छन्। तनहुँका अर्का दाबेदार रेसमबहादुर विकले पर्यटन क्षेत्रमा योगदान दिएकाको भन्दै निवेदन दिएका छन्। उनले गाउँमा होमस्टे चलाएका छन्।
स्याङ्जाका डिलबहादुर गुरुङ असल छिमेकी सहयोग सङ्घ (गोनेसा) का पूर्व अध्यक्ष हुन्। उनले समाजसेवाको अन्तर्राष्ट्रिय अवार्ड जितेका छन्। त्यस्तै स्याङ्जाको आँधिखोलाका प्राडा. याम बहादुर पौडेल क्षेत्रीले साहित्य विधामा योगदान पुर्याएको भन्दै विभूषणमा दाबी गरेका छन्। उनी पृथ्वीनारायण क्याम्पस पोखराका अङ्ग्रेजी विषयका अवकाश प्राप्त प्राध्यापक हुन्।
कस्ता ब्याक्तिले पाउँछन् ‘गण्डकी रत्न’
‘गण्डकी रत्न’ बाट विभूषित गरिने ब्यक्तिन शिक्षा, स्वास्थ्य, खेलकुद, कृषि, उद्योग, पर्यटन, पूर्वाधार, विज्ञान, प्रविधि लगायत क्षेत्रमा योगदान पुर्याएका मध्येबाट छनोट गरिने सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार विकासमन्त्री कुमार खड्काले बताए।
‘गण्डकी प्रदेशको बासिन्दा रहेर विभिन्न क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याएका तीन जनालाई सम्मान गर्ने कार्यको थालनी गर्न लागेका छौँ’,उनले भने,‘सरकारले बनाएको सिफारिस समितिले समाजसेवाका क्षेत्रमा महत्त्वपूर्ण योगदान गर्ने तीन जना ब्यक्तिन छनोट गरेर पेस गरेपछि मन्त्रीपरिषद्को बैठकले अनुमोदन गरेसँगै सरकारले विशेष सम्मान गर्ने छ।’
‘गण्डकी रत्न’ बाट सम्मानित हुने व्यक्तित्व सामाजिक, आर्थिक कार्यबाट सामाजिक सद्भाव, रोजगारी, प्रविधि विकास, संस्कृति, कला संरक्षण लगायत समाज सेवाका क्षेत्रमा अब्बल र अनुकरणीय कार्य गरेको हुनुपर्ने कार्यविधिमा उल्लेख छ ।सरकारले सम्मान गर्ने ब्यक्तिन छनोट गर्नका लागि सिफारिस समितिमा प्रदेश सरकारका वरिष्ठतम मन्त्रीको अध्यक्षतामा अर्थमन्त्री, आन्तरिक मामिला मन्त्री र प्रमुख सचिव सदस्य रहने कार्यविधिमा उल्लेख छ।
यस्तो हुने छ सेवा सुविधा र सम्मान
विभूषणबाट सम्मानितलाई सार्वजनिक सभा–समारोहमा प्रदेशसभा सदस्य सरहको मान्यता सहित सेवा, सुविधा दिने व्यवस्था कार्यविधिले गरेको छ। त्यसै गरी प्रदेश सरकार मातहत रहेका अस्पतालमा निःशुल्क स्वास्थ्य उपचार सेवा, प्रदेशभित्र रहेका विमानस्थलमा अति विशिष्ट कक्षको सुविधा र अन्य सार्वजनिक सेवाको क्षेत्रमा समेत सेवाका लागि प्राथमिकता दिने कार्यविधिमा उल्लेख छ।
सम्मानित ब्याक्तित्वलाई विभूषित हुँदाको बखत सम्मान स्वरूप सुन जडित चाँदीको तक्मा र प्रमाणपत्र दिइने प्रवक्ता खड्काले बताए।
माघ २७, २०७८ बिहीबार १७:५०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।