फिफा वरियतामा नेपालको दुई स्थान सुधार, बेल्जियम एक नम्बरमा

काठमाडौंः नेपालले फिफा वरियतामा सुधार गरेको छ। फुटबलको सर्वोच्च निकाय फिफाले सार्वजनिक गरेको पछिल्लो वरियतामा नेपाल दुई स्थान सुधार गर्दै १६७औं स्थानमा छ।
गत साता भएको नेपाल र मौरिसियसबीचको दुई मैत्रिपूर्ण खेलमा जित हासिल गरेपछि नेपालले फिफा वरियता सुधार गर्ने अपेक्षा गरिएको थियो। यसअघि अघिल्लो वरियतामा नेपाल १६९औं स्थानमा थियो।
दक्षिण एसियाली मुलुकमा भारत शीर्ष स्थानमा छ। १०४औं स्थानमा रहेको भारतपछि अफगानिस्तान १५०औं स्थानमा छ। माल्दिभ्स १५७औं स्थानमा छ। यस्तै नेपाल चौथो स्थानमा रहेको छ। नेपालपछि भुटान १८५औं, बङ्गलादेश १८६औं, पाकिस्तान १९७औं र श्रीलङ्का २०४औं स्थानमा छ।
वरियताअनुसार १ नम्बरमा युरोपियन टोली बेल्जियम छ। दोश्रोमा ब्राजिल र तेश्रोमा फ्रान्स छ। यस्तै दक्षिण अमेरिकी टोली अर्जेन्टिना चौथो स्थानमा छ भने पाँचौं स्थानमा इंग्ल्याण्ड छ।
माघ २७, २०७८ बिहीबार १५:४४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।