महाधिवेशनको माग गर्दै सानेपामा नेविसंघको दबाब कार्यक्रम

महाधिवेशनको माग गर्दै सानेपामा नेविसंघको दबाब कार्यक्रम

काठमाडौंः नेपाल विद्यार्थी संघ (नेविसंघ)ले महाधिवेशनको माग गर्दै बिहीबार कांग्रेस केन्द्रीय कार्यालय सानेपामा दबाब कार्यक्रम आयोजना गरेको छ। पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाइएको मौकामा नेविसंघको कृष्णप्रसाद सिटौला, प्रदीप पौडेलनिकटका विद्यार्थीहरूको समूहले महाधिवेशनको माग गर्दै पार्टी नेतृत्त्वलाई दबाब दिएको हो।

नेविसंघका पूर्व केन्द्रीय सदस्य सुशील भट्ट, रत्नहरी ढुंगेल, नवराज त्रिपाठी, पूर्वसहमहामन्त्री परमेश्वर साह, तरुण दलका नेता भागवत रेग्मी, विद्यार्थी नेताहरू हरि आचार्य, दीपक ओझा, जीवन राना, किरण भट्टराई, सन्तोष गुरुङलगायतले पार्टी कार्यालय सानेपा अगाडि भेला भई दबाब दिएका हुन्।

उनीहरूले नेविसंघको झण्डाको चित्र कोरेर पार्टी सभापतिदेखि केन्द्रीय कार्यसम्पादन समिति सदस्य समेतलाई महामन्त्री विश्वप्रकाश शर्मा र मुख्यसचिव कृष्ण पौडेलमार्फत बुझाएको विद्यार्थी नेता सुवास घिमिरेले बताए। 

उनीहरूले केन्द्रीय कार्यसमितिका सदस्य समेतलाई नेविसंघको झण्डासहितको ‘विधानसम्मत महाधिवेशन सुनिश्चित गर’ लेखिएको चित्र बुझाएका छन्। 

नेविसंघका पूर्व केन्द्रीय सदस्य सुशील भट्टले लामो समय महाधिवेशन हुन नसक्दा अन्योलता भएको भन्दै नेतृत्त्वलाई दबाब दिन रचनात्मक विधि अपनाइएको बताए। उनले छिटोभन्दा छिटो महाधिवेशन हुनुपर्छ भन्ने आफूहरूको धारणा रहेको भन्दै सोहीअनुसार नेतृत्त्वले वातावरण बनाउनुपर्नेमा जोड दिए। 

पार्टी कार्यालयमा बोलाइएको केन्द्रीय कार्यसमिति बैठकमा नेविसंघको महाधिवेशनसहित विभिन्न विषयमा छलफल हुने कार्यक्रम रहेको छ। नेविसंघको महाधिवेशनको माग गर्दै विद्यार्थीहरूले यसअघि नै नेताहरूको ध्यानाकर्षण समेत गराउँदै आएका छन्।

माघ २७, २०७८ बिहीबार १५:१०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।