भौतिक उपस्थितिमै एसईई परीक्षा, वैशाख ९ देखिको तालिका सार्वजनिक

भौतिक उपस्थितिमै एसईई परीक्षा, वैशाख ९ देखिको तालिका सार्वजनिक
फाइल तस्बिर

काठमाडौं : २०७८ सालको माध्यमिक शिक्षा परीक्षा एसईई २०७९ वैशाख ९ गतेदेखि सञ्चालन हुने भएको छ।

कक्षा १० को अन्तिममा लिइने एसईई परीक्षा यस वर्ष भौतिक रूपमै सञ्चालन हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ। 

बोर्डले बिहीबार सूचना निकालेर एसईईको परीक्षा तालिका सार्वजनिक गरेको छ। केन्द्र तोकेर सञ्चालन हुने एसईईको परीक्षा वैशाख २० गतेसम्म चल्नेछ। एसईईको पहिलो दिन वैशाख ९ गते अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा सञ्चालन हुनेछ। 

वैशाख ११ गते गणित, १२ गते नेपाली र १३ गते विज्ञान विषयको परीक्षा सञ्चालन हुने तालिका बोर्डले सार्वजनिक गरेको छ। 

तालिका अनुसार वैशाख १४ गते अनिवार्य सामाजिक अध्ययन, १५ गते अनिवार्य स्वास्थ्य जनसङ्ख्या तथा वातावरण शिक्षा र १६ गते ऐच्छिक प्रथम पत्रका सबै विषयहरूको परीक्षा सञ्चालन हुनेछ। वैशाख १७ गते ऐच्छिक द्वितीय पत्रका सबै विषयहरू, १८, १९ र २० गते प्राविधिक विषय तर्फका परीक्षा सञ्चालन हुने बोर्डले जनाएको छ। 

कोरोना महामारीका कारण बोर्डले नियमित समयभन्दा एक महिना ढिलो परीक्षा गर्न लागेको जनाएको छ। बोर्डका अनुसार यो वर्षको एसईईमा ५ लाख भन्दा धेरै विद्यार्थीले परीक्षा दिने अनुमान गरिएको छ।

माघ २७, २०७८ बिहीबार ०८:५२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।