क्रिप्टोकरेन्सी र नेटवर्किङमा लाग्दै नलाग्नु: राष्ट्र बैंक

क्रिप्टोकरेन्सी र नेटवर्किङमा लाग्दै नलाग्नु: राष्ट्र बैंक

आज एक सूचनामार्फत बैंकले पछिल्ला दिनहरूमा नेटवर्क मार्केटिङ र क्रिप्टोकरेन्सीको कारोबार बढ्दै गएको पाइएको र त्यस्ता कारोबार र गतिविधि देशको अर्थतन्त्रका लागि मात्र नभई लगानी गर्नेका लागि पनि जोखिम रहेको बताउँदै सचेत गराएको हो। 

यसको प्रकृति नै गैरनियमन भएकाले धेरै सचेत रहन राष्ट्र बैंकले अनुरोध गरेको छ। यस्तै क्रिप्टोकरेन्सीको प्रयोगबाट अवैधानिक क्रियाकलाप, विशेषगरी ठगी तथा कर छलीलगायतका कार्य हुनसक्ने उल्लेख गर्दै बैंकले सन् २०२० मा आपराधिक बिटक्वाइन ठेगानाबाट मात्र अमेरिकी डलर तीन अर्ब ५० करोड पठाएको पाइएकाले नेटवर्किङ मार्केटिङको व्यवसाय पनि अवैधानिक आर्थिक क्रियाकलाप भएकाले राजश्वमा नकारात्मक असर पर्ने उल्लेख गरेको छ। 

क्रिप्टोकरेन्सीको कारोबारमा सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी क्रियाकलापमा लगानीसम्बन्धी उच्च जोखिम हुने पनि बैंकले जारी गरेको सूचनामा उल्लेख छ।

बैंकले नेपालजस्तो वित्तीय साक्षरता कम भएका मुलुकमा वित्तीय सेवाका उपभोक्ता असुरक्षित हुने बढी सम्भावना रहने पनि स्पष्ट पारेको छ। बैंकले नेपाल जस्तो सीमित पूँजी भएको र स्वदेशी पूँजी विदेश लैजान बन्देज लगाइएको मुलुकमा नवीन प्रविधिको सहयोगमा अन्तरदेशीयरूपमा सञ्चालित नेटवर्क मार्केटिङ व्यवसायबाट अवैधानिक माध्यम वा हुण्डीमार्फत पैसा विदेशिने र पूँजी पलायन हुनसक्ने सूचनामा उल्लेख छ।

क्रिप्टोकरेन्सीको कारोबार/लगानी तथा नेटवर्किङ व्यवसायबाट पूँजी पलायन हुन सक्ने र विदेशमा रहेका नेपालीबाट नेपाल आउन सक्ने विप्रेषण विदेशमै लगानी हुन सक्ने भएकोले विदेशी सञ्चितिमा समेत नकारात्मक प्रभाव पर्न सक्ने भएकाले त्यस्ता गतिविधमा संलग्न नहुन अनुरोध गरिएको छ। 

यस्तै बैंकले यस्ता अवैधानिक आर्थिक क्रियाकलापमा संलग्न हुँदा व्यक्तिगत जीवन र मुलुकको आर्थिक सामाजिक व्यवस्थामा समेत नकारात्मक असर पर्ने भएकाले ध्यान दिन आग्रह गरेको छ।

माघ २५, २०७८ मंगलबार २०:५८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।