वैदेशिक रोजगारीमा जाने श्रमिकमाथि शोषण गर्नेलाई हदैसम्म कारबाही हुन्छ: श्रममन्त्री श्रेष्ठ

काठमाडौंः श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारीमा जाने श्रमिकमाथि शोषण गर्नेहरूलाई सरकारले हदैसम्मको कारबाही गर्ने बताएका छन्। मन्त्रालयले नेपाल र संयुक्त अरब इमिरेट्स (युएई)बीच हुने संयुक्त कार्यसमिति बैठकको तयारी सम्बन्धमा आज सरोकारवालाहरूसँग गरेको छलफलमा मन्त्री श्रेष्ठले यस्तो बताएका हुन्।
उनले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई सरल, पारदर्शी र विश्वसनीय सेवा पुर्याउनुपर्ने पनि बताए। वैदेशिक रोजगारीमा रहेका लाखौँ युवाको जीवन सुरक्षित बनाउनु सरकारको प्रमुख दायित्व रहेको बताउँदै उनले वैदेशिक रोजगारीको क्षेत्र सुधार गर्ने अभियानबाट आफू पछि नहट्ने प्रतिबद्धता पनि जनाए।
नेपाल र युएईबीच हुने संयुक्त कार्यसमिति बैठकमा नेपालले न्यूनतम पारिश्रमिक वृद्धि, सीप विकासमा लगानी, पुनर्एकीकरण तथा पुनर्स्थापना कार्यक्रम सञ्चालन जस्ता विषयलाई प्राथमिकता दिने मन्त्री श्रेष्ठको भनाइ छ। कार्यक्रममा मन्त्रालयका सचिव एकनारायण अर्यालले वैदेशिक रोजगारी क्षेत्रका कमि कमजोरी सुधार्न मन्त्रालयको नेतृत्त्व गम्भीर भएर लागेको बताएका थिए।
नेपाल र युएईबीच भएको श्रम समझदारी कार्यान्वयनमा सहजीकरण गर्न दुवै देशका प्रतिनिधि सम्मिलित संयुक्त कार्यसमितिको बैठक युएईमा हुँदैछ। वैदेशिक रोजगारीको प्रलोभनमा परी पर्यटन तथा अन्य भिसामा युएई गई अलपत्र परेका नेपालीहरूको व्यवस्थापनका विषयमा युएई सरकारसँग छलफल गर्न मन्त्री श्रेष्ठ नेतृत्त्वको टोली युएई जाँदैछ।
माघ २५, २०७८ मंगलबार १९:०४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।