मूर्तिचोरलाई मन्त्री बनाएको समाचार लेख्ने उकेराकर्मी विकलाई धम्की- 'अब लेखिस् भने व्यवस्था हुन्छ'

सुर्खेतः मूर्तिचोर गैरसांसद छिरिङ डम्डुल लामा ‘कार्चेन’लाई मन्त्री बनाएको समाचार लेख्ने उकेराकर्मी जगतदल जनला विकलाई धम्की दिइएको छ। कार्चेनका समर्थकले विकलाई धम्की दिने, अपशब्द प्रयोग गर्ने, हतोत्साहित बनाउने र सामाजिक सञ्जालमा समेत अपमानजनक शब्द प्रयोग गरेपछि नेपाल पत्रकार महासङ्घ सुर्खेत शाखाले यस घटनाप्रति खेद प्रकट गरेको छ।
महासङ्घ सुर्खेत शाखाले आज एक विज्ञप्ति जारी गर्दै समाचार लेखेकै भरमा मन्त्रीनिकट व्यक्तिहरूबाटै पत्रकारमाथि भइरहेको कार्य प्रेस स्वतन्त्रता विरोधी भएको र स्वतन्त्र प्रेसमाथिको ठाडो हस्तक्षेप भएको बताएको छ।
विज्ञप्तिमा भनिएको छ- 'सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति असहमति भए वा चित्त नबुझे त्यसको खण्डन गर्ने र त्यसविरुद्ध कानूनी उपचार खोज्ने प्रावधान हुँदाहुँदै समाचार लेखेकै कारण मन्त्रीनिकटकै व्यक्तिहरूबाट पत्रकारमाथि भइरहेको यो कार्य लोकतान्त्रिक शासन व्यवस्थामा प्रेस स्वतन्त्रता विरोधी र स्वतन्त्र प्रेसमाथिको ठाडो हस्तक्षेप हो। तसर्थ यस्ता क्रियाकलापको महासङ्घ खेद प्रकट गर्दछ।'
विकले लेखेका समाचार
महासङ्घले पत्रकारलाई धम्की दिनेमाथि आवश्यक कारबाही गर्न र पत्रकारको सुरक्षाप्रति संवेदनशील बन्न स्थानीय प्रशासन र सुरक्षा निकायलाई आग्रह पनि गरेको छ। मन्त्रीनिकट व्यक्तिहरूले सुर्खेत शाखाका उपाध्यक्ष ग्यालेक्सी टेलिभिजन कर्णाली ब्यूरो प्रमुख सुदीप पुरीलाई समेत धम्की र गालीगलौज गरेका थिए।
उकेराकर्मी विकले आफूलाई मन्त्रीनिकट व्यक्तिहरूले समाचार लेखेको दोश्रो-तेस्रो दिनदेखि नै पछ्याउने गरेको, फोनमा धम्की दिन थालेको, सामाजिक सञ्जालमा गालीगलौज गरेको बताए।
उकेराकर्मी विकलाई सामाजिक सञ्जाल फेसबुकमार्फत दिइएको धम्की
'समाचारको फलोअप गरेको दोश्रो-तेस्रो दिन साँझ बाइकमा केही मान्छेहरूले पछ्याए। त्यहाँबाट दौडेर बल्लबल्ल भागेँ। भोलि के होला होला भनेर पत्रकार महासङ्घलाई जानकारी गराएँ', उनले भने, 'नम्बर माग्ने, गालीगलौज गर्ने जस्ता काम पनि गरिरहेका थिए।'
उनीहरूले विकलाई 'अब समाचार लेखिस् भने व्यवस्था हुन्छ' भनेर भौतिक आक्रमण गर्ने हिसावले धम्क्याएको पनि उनले बताए।
माघ २५, २०७८ मंगलबार १८:४३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।