गण्डकीमा ७१ महिला र ७७ पुरुषमा सङ्क्रमण पुष्टि, चार जनाको मृत्यु

गण्डकीमा ७१ महिला र ७७ पुरुषमा सङ्क्रमण पुष्टि, चार जनाको मृत्यु

पोखराः गण्डकी प्रदेशमा थप एक सय ४८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा चार सय ५२ जनामा गरिएको नमुना परीक्षणमा एक सय ४८ जनामा सङ्क्रमण देखिएको हो।

सङ्क्रमितमध्ये ७१ महिला र ७७ पुरुष रहेका छन्। प्रदेशमा विभिन्न जिल्लाहरुमा गरिएको परीक्षणमा सबैभन्दा धेरै सङ्क्रमित कास्कीमा भेटिएको प्रदेश स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्रका सञ्योजक नवराज शर्माले जानकारी दिए।

उनका अनुसार कास्कीमा ७५, पर्वतमा ५, स्याङजामा २२, नवलपरासीपूर्वमा ५, बागलुङमा ६, तनहुँमा १४, लमजुङमा ६, गोरखामा ३, मनाङमा १, मुस्ताङमा १ र म्याग्दीमा १० जनामा सङ्क्रमण देखिएको हो। योसँगै गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको संख्या एक लाख नौ सय ४६ पुगेको छ।

गण्डकीमा कोरोना सङ्क्रमणबाट थप चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ का ६० वर्षीया महिला, पर्वत कुमा नगरपालिका–२ का ७० वर्षीय पुरुष, तनहुँ भिमाद नगरपालिका–५ का ९० वर्षीय पुरुष र स्याङजाको पुतलीबजार नगरपालिका–२ का ६४ वर्षीय पुरुष रहेका छन्।

उनीहरू चारै जनाको पोखरास्थित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। योसँगै गण्डकीमा कारोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या एक हजार चार सय ५२ पुगेको छ।

प्रदेशमा पछिल्लो २४ घण्टामा पाँच सय १६ जना कोरोना सङ्क्रमणमुक्त पनि भएका छन्। योसँगै गण्डकीमा हालसम्म सङ्क्रमणमुक्त हुनेको संख्या ९७ हजार एक पुगेको छ।

गण्डकीमा सक्रिय सङ्क्रमितको सङख्या दुई हजार चार सय ९३ पुगेको निर्देशनालयले जानकारी दिएको छ।

माघ २५, २०७८ मंगलबार १७:१८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।