भृकुटीमण्डप निरीक्षणपछि मन्त्री रेग्मीको योजना: हङकङ बजारमा टिनको छानो, भाडा नतिर्नेलाई कारबाही

भृकुटीमण्डप निरीक्षणपछि मन्त्री रेग्मीको योजना: हङकङ बजारमा टिनको छानो, भाडा नतिर्नेलाई कारबाही

काठमाडौंः महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले भृकुटीमण्डप क्षेत्रलाई व्यवस्थित गर्न सरकार द्रुत गतिमा अघि बढेको बताएकी छिन्। मङ्गलबार भृकुटीमण्डप क्षेत्रको निरीक्षण गर्दै मन्त्री रेग्मीले बिचौलियामार्फत हुने कारोबार रद्द गरेर सोझै परिषद्मार्फत नै भाडा सम्झौता हुने व्यवस्था मिलाउन लागिएको समेत बताएकी छिन्।

समाज कल्याण परिषद्को अध्यक्ष समेत रहेकी रेग्मीले अव्यवस्थितरूपमा रहेका घर टहरा, तरकारी बजार, फनपार्कको उचित व्यवस्थापनका साथै खाली रहेका जग्गा जमीनलाई उपयोग गर्ने रणनीति समेत बनाएको बताइन्।

"तरकारी बजार, फनपार्क, होटल लगायतमा उचित व्यवस्थापन छैन भन्ने गुनासो आएको थियो, आफ्नै आँखाले छर्लङ्ग देखेँ", उनले भनिन्, "अब छिट्टै नतिजा देख्नुहुनेछ।"

यस्तै कतिपय संस्थाले लामो समयसम्म पनि भाडा नतिरेको बताउँदै मन्त्री रेग्मीले पैसा नतिर्ने अटेर गरी बस्ने, जग्गाको दुरुपयोग गर्ने र अनियमित किसिमले अधिग्रहण गर्नेलाई कारबाही गरिने समेत बताइन्। उनले भृकुटीमण्डपको हङकङ बजारलाई व्यवस्थित बनाउन तत्काल टिनको छानोको व्यवस्था गर्ने योजना रहेको पनि जानकारी दिइन्।

रेग्मीले भृकुटीमण्डप क्षेत्रको टुकुचा, खसी बजार, फन पार्क, हङकङ बजार, प्रदर्शनीस्थल लगायतको निरीक्षण गरेकी हुन्।

माघ २५, २०७८ मंगलबार १७:०८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।