राप्रपाबाट अलग भए कमल थापा 

राप्रपाबाट अलग भए कमल थापा 

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टीका निवर्तमान अध्यक्ष कमल थापा पार्टीबाट अलग भएका छन्। थापाले पार्टीमा आफ्नो कुराको सुनवाई नहुने भएपछि पार्टीबाट अलग हुने निर्णय गरेको उल्लेख गरेका छन्। 

उनले सोमबार राप्रपाका निर्वाचित पदाधिकारी, सदस्य र पूर्व पदाधिकारीसँग छुट्टै छलफल गरेका थिए।

‘पार्टीभित्र देखा पर्न थालेको सैद्धान्तिक विचलन तथा गलत प्रवृत्तिलाई सुधार गरेर मेरो बाँकी क्रियाशील राजनीतिक जीवन पार्टी भित्रै बिताउने र पार्टी मै रमाउने उत्कट चाहना भएता पनि आफ्नो कुराको सुनवाइ नहुने भएपछि मैले यो अप्रिय निर्णय लिन बाध्य भएको हुँ।’थापाले निकालेको विज्ञप्तिमा लेखिएको छ। 

राप्रपाको एकता महाधिवेशनबाट अध्यक्षमा पराजित भएका थापा निर्वाचित अध्यक्ष राजेन्द्र लिङदेनले बोलाएका बैठकमा सहभागी भएनन्। उनले आफू पराजित हुनुमा ज्ञानेन्द्र शाह र दरबारको हात रहेको आरोप लगाएका थिए।

गृह जिल्ला मकवानपुरको हेटौडामा पत्रकार सम्मेलन गरेर थापाले नयाँ पार्टी खोल्ने सङ्केत गरे। उनले उपयुक्त समयमा नयाँ दल खोल्ने निर्णयमा पुग्ने बताए। ‘काठमाडौँ पुगेर साथीहरूसँग छलफल गर्छु,’उनले भने,‘नयाँ दल खोल्ने विषयमा उपयुक्त समयमा निर्णय गर्छु।’ 

माघ २५, २०७८ मंगलबार १४:१३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।