कार्यकाल नसकिँदै बाहिरिने जनप्रतिनिधिबारे बोलेनन् गगन थापा

काठमाडौँ : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले स्थानीय तह रिक्त हुने आशङ्का हटेको बताएका छन्।
अबको ९५ दिनभित्र स्थानीय तहमा चुनाव गराउने सरकारको घोषणासँगै जनप्रतिनिधि विहीन हुने आशङ्का हटेको थापाले उल्लेख गरेका छन्।
महामन्त्री थापाले चुनावको मिति घोषणा गर्ने निर्णय संविधानको मर्म अनुरूप रहेको बताए। कार्यकाल नसकिँदै बाहिरिने जनप्रतिनिधिबारे भने महामन्त्री थापाले प्रतिक्रिया सार्वजनिक गरेका छैनन्।
संविधान अनुसार स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिको कार्यकाल पाँच वर्षको हुने व्यवस्था छ। २०७४ साल वैशाख, असार र असोज तीन चरणमा चुनाव भएको थियो।
संविधानको धारा २१६ मा नगर कार्यपालिका प्रमुख र उपप्रमुख सम्बन्धी व्यवस्था छ। उपधारा ७ मा प्रमुख पदमा दुई कार्यकाल निर्वाचित भएको व्यक्ति नगरपालिकाको निर्वाचनमा उम्मेदवार हुन नपाउने लेखिएको छ। निर्वाचित प्रमुख, उपप्रमुख, वडा अध्यक्ष र सदस्यको पदावधि निर्वाचित भएको मितिले पाँच वर्षको उनले उपधारा ६ मा व्यवस्था छ।
धारा २२० को उपधारा ५ मा जिल्ला समन्वय समितिको प्रमुख, उपप्रमुख र सदस्यको पदावधि निर्वाचित भएको मितिले पाँच वर्षको हुने व्यवस्था छ।
संविधानको भाग १८ मा स्थानीय व्यवस्थापिकाको व्यवस्था छ। धारा २२५ मा गाउँ सभा र नगर सभाको कार्यकाल निर्वाचन भएको मितिले पाँच वर्षको हुने लेखिएको छ। कार्यकाल समाप्त भएको ६ महिनाभित्र अर्को गाउँ सभा र नगर सभाको निर्वाचन सम्पन्न गर्नुपर्ने व्यवस्था छ।
७५३ वटै स्थानीय तहको चुनाव एकै दिन गर्ने निर्णय सरकारले गरेको छ। दोस्रो र तेस्रो चरणमा निर्वाचित भएका जनप्रतिनिधिहरूको कार्यकाल पाँच वर्ष पुरा हुँदैन। कार्यकाल पूरा नभए पनि निर्वाचन ऐन अनुसार कार्यकाल पुरा भएको मानिने निर्वाचन आयोगले जनाएको छ।
आयोगले २०७४ को चुनावमा भन्दा २० लाख मतदाता थप भएको जनाएको छ। ‘देशभरका निर्वाचन कार्यालयले अद्यावधिक विवरण पठाएपछि मतदाताको अन्तिम नामावली प्रकाशन हुन्छ,’आयोगको एक सदस्यले भने,‘आज नागरिकता लिनेको मतदाता नामावलीमा नाम समावेश हुँदैन।’
माघ २५, २०७८ मंगलबार १०:३८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।