म्यानपावरका सञ्चालकलाई पक्रेर युएईमा अलपत्र नेपालीको उद्धार

काठमाडौं : युएईमा अलपत्र परेका आठ जनालाई उद्धार गरेर नेपाल ल्याइएको छ। काठमाडौँको टोखास्थित ट्रिपलस्टार इम्प्लोइमेन्ट प्रालिबाट पर्यटन भिसामा युएई गई अलपत्र परेका आठ जनालाई उद्धार गरी नेपाल ल्याइएको हो।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले तत्काल उद्धार गर्न चेतावनी दिएपछि सोही म्यानपावरले अलपत्र नेपाली श्रमिकलाई उद्धार गरेको मन्त्री श्रेष्ठको निजी सचिवालयले जनाएको छ।
नेपाल फर्कनेमा तनहुँका राजीव सुनुवार र ज्ञानेन्द्र रानाभाट, गोरखाका सुनिल पन्थ र रमेशजंग शाह, डडेलधुराका शिवराज पन्त, मोरङका चिरायु सरदार, सुर्खेतका झकबहादुर थापा र सङ्खुवासभाका सन्तोष चम्लागाई छन्।
युएईको ग्लोबल सेक्युरिटी कम्पनीमा रोजगारी लगाइदिने भन्दै १२ जना नेपालीबाट ७ लाख ५० हजारका दरले रकम लिएर युएई पठाइ अलपत्र पारेको उजुरीका आधारमा म्यानपावरका सञ्चालक भीम गुरुङलाई मन्त्रालयले गठन गरेको ‘मार्सल टोली’ ले पक्राउ गरेको थियो।
यस्तै केही समयअघि साउदी अरेबियामा बिरामी परी अलपत्र परेका जाजरकोटका आइस रानालाई नेपाल फर्काइएको छ। राना सहित साउदी अरबमा अलपत्र परेका चार नेपालीलाई स्वदेश फिर्ता गरिएको नेपाली काउन्सिलर शत्रुधन पोखरेलले जानकारी दिए।
माघ २५, २०७८ मंगलबार ०८:०२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।