गायक योगेश्वरको किर्ते लालपुर्जा प्रकरणमा जोडिएका कुमारी बैङ्कका सिइओको राजीनामा

काठमाडौँ : गायक योगेश्वर अमात्यको १२ बिगाहा जग्गाको किर्ते लालपुर्जालाई आधार बनाएर १९ करोड ऋण स्वीकृत गर्ने कुमारी बैङ्कका कायममुकायम कार्यकारी अधिकृत अनुजमणि तिमल्सिना र नायव प्रमुख कार्यकारी अधिकृत मनिष तिमल्सिनाले कुमारी बैङ्क छाडेका छन्।
अनुजमणिले आफ्नो क्लास मेट समेत रहेका सेन्चुरी बैङ्कका पूर्व सञ्चालक कुसन प्रधानसँग मिलेर अमात्यको किर्ते लालपुर्जाकै आधारमा ऋण दिएको खुलेपछि नेपाल राष्ट्र बैङ्क र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान गरेको थियो। यही ऋण प्रकरणमा मनिष समेत जोडिएका थिए।
ऋण प्रवाह गर्ने बैङ्कको न्युरोड शाखाको कसैलाई पक्राउ गरिएको छैन। १० करोड माथिको ऋण प्रवाह गर्दा बैङ्कको कार्यकारी निर्देशकको अनिवार्य अनुमति चाहिने भए पनि तिमल्सिनाले सो ऋण प्रकरणमा आफू संलग्न नभएको दाबी गरेका थिए।
प्रारम्भमा सिआइबीले सरकारी किर्तेमा मात्रै अनुसन्धान गरेकोमा पछि बैङ्किङ कसुरमा समेत अनुसन्धान गरे पनि उनीहरू सो ऋण प्रकरणमा प्रत्यक्ष संलग्न देखिएनन्। तर सो प्रकरणमा कुमारी बैङ्कको साख भने बदनाम भएको थियो।
दुवैले बैङ्कबाट राजीनामा दिएका हुन्। उनीहरूले १२ महिनाको तलब लिएर स्वैच्छिक अवकाश लिएको दाबी गरिए पनि मुख्य कारण भने सोही ऋण प्रकरण रहेको बैङ्क स्रोतले बतायो। तिमल्सिना बैङ्कमा रहेसम्म बैङ्कको साखमै नकारात्मक प्रभाव पार्ने भन्दै उनीहरूलाई राजीनामाको दबाब आइरहेको थियो।
यही बेलामा बैङ्कले स्वैच्छिक अवकाशको योजना ल्याएपछि उनीहरूले सुरक्षित अवतरणका लागि सोही योजना अनुसार राजीनामा दिएर बाहिरिएका हुन्। व्यवस्थापनको उच्च तहका २ जनाले राजीनामा दिए लगत्तै तेस्रो वरियतामा रहेका रामचन्द्र खनाललाई बैङ्क सञ्चालक समितिले कामु सीईओको जिम्मेवारी दिएको छ।
माघ २४, २०७८ सोमबार २१:०५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।