गैरकानूनीरूपमा विद्यार्थी विदेश पठाउने कन्सल्टेन्सीलाई गृहले कारबाही गर्ने

काठमाडौंः गृह मन्त्रालयले गैरकानूनीरूपमा विद्यार्थीलाई विदेश पठाउने शैक्षिक परामर्श व्यवसायीलाई कारबाही गर्ने जनाएको छ। मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै विद्यार्थीलाई विदेश पठाउँदा प्रचलित कानूनविपरीत काम गरेको पाइए त्यस्ता गतिविधिमा संलग्न संस्था, समूह र व्यक्ति जोसुकैलाई कारबाही गर्ने मन्त्रालयले जनाएको हो।
पछिल्लो समय त्यस्ता उजुरी र गुनासोहरू बढिरहेको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ।
‘गैरकानूनी काम गर्ने शैक्षिक परामर्शदाता संस्थाहरू, अनाधिकृतरूपमा ईजाजत नलिई अनलाइनरूपमा विज्ञापन गर्ने शैक्षिक संस्थाहरू, अवैधरूपमा विदेशस्थित विभिन्न देशका शैक्षिक संस्थाहरूको प्रतिनिधिको रूपमा कार्य गर्ने व्यक्तिहरूउपर सरकारले निगरानी गरिरहेको छ,’ गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘त्यस्ता गतिविधिमा संलग्न हुने जोसुकैलाई पनि प्रचलित कानून बमोजिम कारबाही गरिनेछ।’
गैरकानूनीरूपमा काम गरेको संस्थाहरू र व्यक्तिविरुद्ध सम्बन्धित व्यक्तिले नेपालमा भए जिल्ला प्रशासन कार्यालय वा नजिकको प्रहरी कार्यालय र विदेशमा भए विदेशस्थित नेपाली नियोगहरूमा जानकारी, सूचना र उजुरी दिन पनि मन्त्रालयले आग्रह गरेको छ।
माघ २४, २०७८ सोमबार २०:३१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।