तीन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षामा सशस्त्र पनि खटिने, प्रतिआतंकवाद सेल बन्ने

तीन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षामा  सशस्त्र पनि खटिने, प्रतिआतंकवाद सेल बन्ने

काठमाडौँ : गृह मन्त्रालयले  प्रतिआतंकवाद सेल गठन गर्ने भएको छ। सशस्त्र प्रहरीले सो जिम्मेवारी पाए पनि हालसम्म आतङ्कवाद नियन्त्रण सम्बन्धी छुट्टै सेल गठन भएको छैन।

गृहमन्त्री बालकृष्ण खाँणले सोमबार सार्वजनिक गरेको गृह प्रशासन सुधार कार्य योजनामा उल्लेख भए अनुसार २ वर्षभित्रमा सेल गठन गरिने छ। यसले देशमा हुनसक्ने आतङ्कवादी गतिविधि नियन्त्रण गर्न सहज हुने कार्य योजनामा उल्लेख छ।

यसका लागि गृह मन्त्रालय र अन्य सुरक्षा निकायले सहयोग गर्ने कार्य योजनामा उल्लेख छ। सशस्त्रमा नभए पनि नेपाल प्रहरीमा भने आतङ्कवाद र अन्तरदेशिय अपराध हेर्न पहिल्यैदेखि विशेष ब्युरो रहेको छ। डिआइजीको कमान्डमा रहने ब्युरोले सङ्गठित अपराध, आतङ्कवादी गतिविधि, अन्तरदेशिय अपराध लगायतको अनुसन्धान गर्ने गरेको छ।

कार्य योजना अनुसार रेल्वे सेवाको सुरक्षाका लागि अलग्गै रेल्वे सुरक्षा गण समेत गठन हुनेछ। २ वर्षभित्र गठन गरिने गण पनि सशस्त्र प्रहरीमा रहने कार्य योजनामा उल्लेख छ। यही बिचमा चार वटा औद्योगिक सुरक्षा गुल्म स्थापना गर्ने उल्लेख छ।

एक वर्षभित्रमा विमानस्थलको आकस्मिक सुरक्षामा सशस्त्र प्रहरी पनि खटाउने कार्य योजनामा छ। 

आकस्मिक सुरक्षाका लागि सशस्त्र प्रहरीको तैनाथ गर्ने कार्य योजनामा उल्लेख भए पनि विस्तृत भने खुलाइएको छैन। अहिले नेपाल प्रहरीले यात्रुको सामान चेकजाँचदेखि लिएर अध्यागमनका अन्य काम समेत गर्ने गरेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एसएसपीको कमान्डमा नेपाल प्रहरी खटिने गरेको छ।

सोही प्रकृतिले सशस्त्रलाई परिचालन गरिने हो या प्रहरी सहितको अन्य मोडालिटी बनाउने हो सो भने उल्लेख छैन। एक वर्षभित्रमा अन्तर्राष्ट्रिय विमानस्थलमा सशस्त्र परिचालन गरिने मात्र उल्लेख छ। सशस्त्रलाई काठमाडौँसँगै भैरहवा र पोखरा विमानस्थलमा समेत परिचालन गर्ने लक्ष्य गृहले लिएको छ।

माघ २४, २०७८ सोमबार १९:५९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।