सडकमा जमेको हिउँ फ्याँकेर रोकिएको यातायात खुलायो सेनाले

सडकमा जमेको हिउँ फ्याँकेर रोकिएको यातायात खुलायो सेनाले

काठमाडौँ : नेपाली सेनाले तीन जिल्लाको सडकमा रहेको हिउँ फ्याँकेर रोकिएको सडक यातायात सुचारु गरेको छ। हिमपातका कारण बैतडी, अछाम र डडेलधुराका सडकमा हिउँ जमेर यातायात अवरुद्ध भएको थियो।

सेनाले नेपाल प्रहरी र स्थानीयको समेत सहयोग लिएर सडकमा जमेको हिउँ फ्याँकेर अवरुद्ध बनेको सडक यातायात खुलाएको हो।

सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार बैतडी जिल्लास्थित दशरथ चन्द राजमार्ग र महाकाली लोक मार्गसम्म सडकमा हिउँ जमेको थियो। यसै गरी अछामको मङ्गलसेन नगरपालिका वडा नम्बर ६ मा रहेको ठूलासैनदेखि कमलबजार नगरपालिका वडा नम्बर ५ मा रहेको गैरिटाँडसम्म हिउँ जमेर मध्य पहाडी लोकमार्गमा यातायात अवरुद्ध भएको थियो।

यसै गरी भिमदत्त राजमार्ग सडक खण्ड अन्तर्गत डडेलधुराको, गन्यापधुरा गाउँपालिका, वडा नम्बर १ मा रहेको भात्कांडा ईलाकादेखि साहु खर्क तथा साहुखर्कदेखि गैरा हुँदै हगुल्टे सडक खण्डमा हिउँ जमेको थियो।

माघ २४, २०७८ सोमबार १८:४६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।