मकवानपुरको राक्सीराङ र कैलाशमा हेरोइन बनाउने अफिमको खेती

मकवानपुरको राक्सीराङ र कैलाशमा हेरोइन बनाउने अफिमको खेती
सांकेतिक तस्बिर

मकवानपुर : मकवानपुरमा भारतीय तस्करहरूसँग मिलेर अफिस खेती हुने गरेको खुलेको छ। प्रहरीको अनुगमनमा गाँजाको अवैध खेती गर्दै आएका किसानहरूले अफिम खेती समेत गरिरहेको फेला परेको हो। सुदुरपश्चिमका दुर्गम क्षेत्रमा कारोबारीहरुले अफिम खेती गराउने गरेका थिए। अब उनीहरु मकवानपुरमा समेत पुगेका छन्।

प्रहरी प्रधान कार्यालयका अनुसार मकवानपुरको राक्सीराङ गाउँपालिका र कैलाश गाउँपालिका अन्तर्गतका वडा एरियाको २१ बिगाहामा अफिम खेती लगाइएको थियो।

लागु औषध नियन्त्रण ब्युरो सहितको प्रहरी टोली राक्सीराङ पुग्दा अफिस खेती गरेको फेला परेपछि उनीहरूले सो खेती नष्ट गरेका थिए। नेपालमा अफिम खेती अवैध हो। सेतो हेरोइन र खैरो हेरोइन बनाउन यसको चोपको प्रयोग हुन्छ। औषधीका लागि अफिम खेती गर्न सकिन्छ तर यसका लागि संयुक्त राष्ट्र सङ्घबाट विशेष अनुमति लिनुपर्ने भए पनि त्यहाँका किसानले भारतीय तस्करको सहयोगमा अफिम खेती लगाएको प्रहरी अनुसन्धानमा खुलेको छ।

सो क्षेत्रमा ब्युरोसँगै बागमती प्रदेश दङ्गा नियन्त्रण प्रहरी गण हेटौँडा, बागमती प्रदेश सशस्त्र प्रहरी गण रातोमाटे, जिल्ला प्रहरी कार्यालय मकवानपुर र सशस्त्र  प्रहरी बल समेतको संयुक्त टोली गएको थियो। उनीहरूले २९ बिगाहा १० कट्ठामा अवैध रूपमा लगाएको गाँजा समेत नष्ट गरेको थियो।  

अफिम खेती गर्नेलाई तीन वर्ष कैद र २५ हजार जरिवाना हुने कानुनी प्रावधान छ।

माघ २४, २०७८ सोमबार १८:३२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।