गण्डकीमा फेरि बढे सङ्क्रमित र मृतक

पोखराः गण्डकी प्रदेशमा थप एक सय ३७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा चार सय ७४ जनामा गरिएको परीक्षणमा एक सय ३७ जनामा सङ्क्रमण देखिएको हो।
सङ्क्रमितमध्ये ६१ महिला र ७६ पुरुष रहेका छन्। गण्डकी प्रदेशमा हिजो सङ्क्रमित र मृतकको सङ्ख्या ह्वात्तै घटे पनि आज पुनः बढेको हो।
आइतबार जम्मा ४६ जनामा सङ्क्रमण र एक जनाको मृत्यु भएको थियो।
प्रदेशमा विभिन्न जिल्लाहरूमा गरिएको नमुना परीक्षणमा सबैभन्दा धेरै सङ्क्रमित कास्कीमा भेटिएको प्रदेश स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्रका सञ्योजक नवराज शर्माले जनाकारी दिए। उनका अनुसार कास्कीमा ५१, पर्वतमा १०, स्याङजामा ११, नवलपरासीपूर्वमा १३, बागलुङमा १२, तनहुँमा ११, लमजुङमा १७, मुस्ताङमा २ र म्याग्दीमा १० जनामा संक्रमण देखिएको हो। योसँगै गण्डकीमा कोरोना सङ्क्रमितको संख्या एक लाख सात सय ९८ पुगेको छ।
यस्तै २४ घण्टाको अवधिमा गण्डकीमा कोरोना सङ्क्रमणबाट थप ४ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा स्याङजा विरुवा गाउँपालिका–८ का ७० वर्षीय पुरुष, पोखरा महानगरपालिका–१५ की ५३ वर्षीया महिला, पोखरा महानगरपालिका–३ का ९३ वर्षीय पुरुष, लमजुङको बेंसीशहर नगरपालिका–११ की ८१ वर्षीया महिला रहेका छन्।
उनीहरूको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। योसँगै गण्डकीमा कारोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या एक हजार चार सय ४८ पुगेको छ।
प्रदेशमा पछिल्लो २४ घण्टामा पाँच सय १६ जना सङ्क्रमणमुक्त पनि भएका छन्। योसँगै गण्डकीमा हालसम्म सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ९६ हजार चार सय ८५ पुगेको छ भने होम आइसोलेसनमा दुई हजार आठ सय २३ जना रहेका छन्।
त्यसैगरी गण्डकीमा सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार आठ सय ६५ पुगेको निर्देशनालयले जानकारी दिएको छ।
माघ २४, २०७८ सोमबार १७:२२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।