५० लाख ठगी प्रकरणमा घोराहीका निर्माण व्यवसायी बसन्त कुँवर पक्राउ

दाङ : लाखौं ठगीमा पक्राउ परेका घोराही- १५ का विकास पुनको बयानको आधारमा घोराहीका निर्माण व्यवसायी बसन्त कुँवर पक्राउ परेका छन्। ५० लाख ठगी आरोपमा पक्राउ परेका पुनको मुद्दामा बसन्त पक्राउ परेका हुन्।
जिल्ला प्रहरी कार्यालय दाङले अनुसन्धानको क्रममा उनलाई पक्राउ गरेको हो। बसन्तले ठगीमा समातिएका पुनको पैसा अरुको खाता प्रयोग गरेर हाल्न लगाएपछि उनलाई पक्राउ गर्नु परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक (एसपी) सुरेशप्रसाद काफ्लेले बताए।
`ठगीमा समातिएका विकासको पैसा साङ्ग्रिला डेपलेपमेण्ट बैंक घोराहीका म्यानेजर सुदर्शन विष्ट र निर्माण व्यवसायी बसन्तले तीन वटा खाता प्रयोग गरेर पैसा आदानप्रदान गरेको प्रहरी अनुसन्धानमा देखिएको छ। तीन वटा खाता प्रयोग गरेर ३० लाख निकालिएको छ। अन्य पैसा नगद नै बुझेको देखिएको छ। निवेदन दिनेदेखि अरु व्यक्तिको खाता युज गरेर पैसा निकाल्ने सबै उसका पार्टनरका रुपमा देखिएका छन्,' एसपी काफ्लेले भने।
इँटा भट्टा चलाइरहेका व्यवसायी बसन्तले इँटा पोल्नका लागि कोइला लगेका घोराही- १५, सहिदगेटका कोइला व्यवसायी रोशन दाहाललाई आफ्नो पैसा आउन लागेको भन्दै पुनको पैसा दाहालको खाता प्रयोग गरेर ९ लाख बढी रकम निकाल्न लगाएको प्रहरी अनुसन्धानमा खुलेको हो।
रोशनको बयान अनुसार बसन्त सो घटनामा अनुसन्धानमा तानिएका हुन्। यसअघि पक्राउ परेका साङ्ग्रिला डेपलेपमेण्ट घोराहिका म्यानेजर सुदर्शनले आफ्नो बैंकको स्टाफको खाता प्रयोग गरेर पुनको पैसा निकाल्न सहयोग गरेको प्रहरीले बताएको छ।
बैंकले त्यति ठूलो रकमको स्रोत नै नखोजी पैसा खाताबाट निकालेर दिएपछि बैंक म्यानेजरसहित निर्माण व्यवसायी, कारोबार गर्ने सबैजसो व्यवसायीयीहरु अनुसन्धानको दायरामा तानिएका हुन्।
एसपी काफ्लेले ठगीको मुद्दा आइतबार नै सरकारी वकिल कार्यालयमार्फत अदालतमा बुझाइसकेको र अधिकतम सजायको माग गरिएको बताए। पीडित व्यवसायी र कारोबार गर्ने व्यवसाय प्रहरीमा मिल्न खोजे पनि प्रहरीले कार्यालयमा मिल्न नमानेपछि मुद्दा अदालतसम्म पुगेको हो।
लामो समयदेखि ठगेर फरार रहेका पुनलाई केही दिनअघि मात्रै सिआइबीको प्रहरी टोलीले काठमाडौंमा पक्राउ गरेपछि दाङ ल्याई २५ दिन हिरासतमा राखेर अनुसन्धान गरेको थियो।
कपिलवस्तु जिल्लाको बाणगंगा-४ का तिलक थापाले दिएको ठगी मुद्दाको जाहेरीका आधारमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पुनलाई काठमाडौंमा पक्राउ गरेको थियो। घोराही उपमहानगरपालिका-१५ का पुनविरुद्ध कपिलवस्तुका थापाले ४९ लाख ५० हजार ठगी गरेको भन्दै दिएको उजुरीको आधारमा प्रहरीले अनुसन्धान गरेको छ।
माघ २४, २०७८ सोमबार १५:२१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।