पोल खुलेपछि एमसीसीलाई पत्र लेखेको स्विकार्दै प्रचण्ड सचिवालयले भन्यो ' परिमार्जन नगरी पास हुन सक्दैन'

प्रचण्डको सचिवालयले पत्र सार्वजनिक भएपछि मात्रै सो पत्रमा रहेको हस्ताक्षर प्रचण्डकै भएको स्वीकार गरेका हुन्। सचिवालयले राष्ट्रिय हित तथा गठबन्धन र सरकारको रक्षाका लागि उक्त पत्र लेखिएको दाबी गरेको छ।
२९ सेप्टेम्बर २०२१ मा एमसिसी मुख्यालयलाई प्रधानमन्त्री र माओवादी केन्द्रका अध्यक्षको तर्फबाट लेखिएको पत्र र त्यसबारे राजनैतिक वृत्त र जनस्तरमा गरिएका टिप्पणी, क्रिया र प्रतिक्रियाप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै सचिवालयले पत्र पठाएको स्वीकार गरेको छ।
प्रस्टीकरणमा प्रतिगमनलाई परास्त गरी भर्खरै गठबन्धन सरकार निर्माण भएको समयमा प्रधानमन्त्रीमाथि एमसिसी पारित गर्नुपर्ने दबाब भएकोले राष्ट्रिय हित तथा गठबन्धन र सरकारको रक्षाका लागि उक्त पत्र लेखिएको भनिएको छ।
'पत्रमा एमसिसीका लागि राष्ट्रिय सहमति आवश्यक हुने र राष्ट्रिय सहमति निर्माणका लागि सरकारलाई केही समय आवश्यक पर्ने कुरा उल्लेख गरिएको हो,' प्रस्टीकरणमा भनिएको छ।'
देशमा एकातिर एमसिसीबारे राजनैतिक वृत्त, बुद्धिजीवी, प्रेसदेखि जनस्तरसम्म विरोध र दबाबको अवस्था विद्यमान रहनु र अर्कोतिर तत्कालीन नेपाल कम्युनिस्ट पार्टी(नेकपा) ले एमसिसीबारे गठन गरेको कार्यदलले पनि यसलाई 'परिमार्जन बिना पारित गर्न नसकिने' निचोड प्रस्तुत गरेकोले समेत गठबन्धनभित्रै यसबारे एउटै मत बनिहाल्ने अवस्था नभएको दाबी गरिएको छ।
'यही वस्तुगत अवस्थालाई मध्यनजर गर्दै राष्ट्र हितलाई केन्द्रमा राखेर नेतृत्वले गरेको कूटनैतिक पहललाई गलत रूपमा व्याख्या गर्नु र अनावश्यक रूपमा उछाल्नुको कुनै अर्थ छैन। हामीले देश र जनताको हितलाई सर्वोपरि ठानी आफ्नो पार्टीका धारणा स्पष्ट गर्दै आएका छौँ,' प्रस्टीकरणमा भनिएको छ' यो परियोजना परिमार्जन बिना पारित गर्नु हुँदैन भन्नेमा हाम्रो पार्टी दृढ छ।'
माघ २३, २०७८ आइतबार २०:१७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।