गण्डकीमा ह्वात्तै घटे सङ्क्रमित, एक जनाको मृत्यु

गण्डकीमा ह्वात्तै घटे सङ्क्रमित, एक जनाको मृत्यु

गण्डकी प्रदेशमा ओमिक्रोन फैलिएसँगै बढेको सङ्क्रमण यतिबेला ह्वात्तै घटेको छ। दुई साता पहिले दैनिक एक हजारको सङ्ख्यामा सङ्क्रमित भेटिएको गण्डकीमा अहिले भने न्यून भेटिन थालेका छन्।

बुधबार तीन सय ८२, बिहीबार दुई सय ९०, शुक्रबार दुई सय ३८, शनिबार एक सय २३ सङ्क्रमित भेटिएकोमा आइतबार सङ्क्रमितको सङ्ख्या ह्वात्तै घटेर ४६ मा झरेको छ।

सबैभन्दा धेरै सङ्क्रमित कास्कीमा भेटिएको प्रदेश स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्रका सञ्योजक नवराज शर्माले जानकारी दिए। उनका अनुसार कास्कीमा २२, पर्वतमा ४, स्याङजामा ७, बागलुङमा ५, मनाङमा १, मुस्ताङमा २ र म्याग्दीमा ४ जनामा सङ्क्रमण देखिएको हो। योसँगै गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको संख्या एक लाख ६ सय ६१ पुगेको छ।

गण्डकीमा कोरोना सङ्क्रमणबाट थप एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा स्याङ्जा वालिङ नगरपालिका–१२ का ६६ वर्षीय पुरुष रहेका छन्। उनको पोखरास्थित गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो। गण्डकीमा कारोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या एक हजार चार सय ४४ पुगेको छ। 

प्रदेशमा पछिल्लो २४ घण्टामा सात सय ७१ जना कोरोना सङ्क्रमणमुक्त भएका छन्। योसँगै गण्डकीमा हालसम्म सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ९५ हजार नौ सय ६९ पुगेको छ भने होम आइसोलेसनमा तीन हजार आठ सय ७३ जना रहेका छन्।

त्यसैगरी गण्डकीमा सक्रिय सङ्क्रमितको सङ्ख्या तीन हजार दुई सय ४८ पुगेको निर्देशनालयले जानकारी दिएको छ।

माघ २३, २०७८ आइतबार १७:४४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।