एमसिसी पत्रको तरङ्ग : बालुवाटारमा माधव नेपाललाई नबोलाई ओलीसँग देउवा र प्रचण्ड छलफलमा

एमसिसी पत्रको तरङ्ग : बालुवाटारमा माधव नेपाललाई नबोलाई ओलीसँग देउवा र प्रचण्ड छलफलमा

मिलेनियम च्यालेन्ज कम्याक्ट (एमसीसी) सम्झौताबारे प्रधानमन्त्री देउवा र प्रचण्डले लिखित रूपमा पठाएको पत्र सार्वजनिक भएकै दिन देउवाले प्रधानमन्त्री निवास बालुवाटारमा दुवै नेतालाई सँगै राखेर छलफल गरेका हुन्।

पत्र सार्वजनिक भएपछि दबाबमा परेका प्रचण्डले देउवासँग आइतबार बिहान बालुवाटारमै छलफल गरेका थिए। संसद्को गतिरोध अन्त्य नभएसम्म एमसिसी सम्झौता संसद्मा टेबल गर्न अप्ठ्यारो हुने भएपछि संसद्को गतिरोध हटाउन र एमसिसीमा सहमति जुटाउन प्रमुख प्रतिपक्षी दलको नेतालाई समेत छलफलमा राखिएको हो।

एककिकृत समाजवादीका अध्यक्ष माधव नेपाल छलफलमा सहभागी भए ओली नआउने भएपछि उनलाई भने बोलाइएन। अनलाइनखबरले आइतबार एमसिसी मुख्यालयमा देउवा र प्रचण्डले हस्ताक्षर गरेर पठाएको सार्वजनिक गरेको थियो जसमा आगामी फागुन १६ भित्र संसदबाट एमसिसी अनुमोदन गर्ने वचन उल्लेख छ।

पत्रबारे प्रधानमन्त्री देउवाले यस अगाडि नै खुलाइसके पनि प्रचण्डले भने अस्वीकार गर्दै आएका थिए। पत्र नै सार्वजनिक भएपछि भने उनी अप्ठ्यारोमा परेका छन्। एमसिसी सम्झौताबारे उनको पार्टीमा अझै एकमत हुन सकेको छैन। उनकै पार्टीका सभामुख अग्नि सापकोटा सहमति संसद्मा टेबल गर्नै नदिने पक्षमा खुलेरै लागेका छन्।

माघ २३, २०७८ आइतबार १७:२२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।