म उत्तर दिने ठाँउमा छैन, कांग्रेसलाई अन्तर्घातबाट बचाउन नेताहरुले सोच्नुहोस् : पौडेल

पोखरा : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आगामी चुनावमा कांग्रेसले जनतालाई आशा जगाउने सन्देश के दिने र कांग्रेसलाई अन्तर्घातबाट कसरी बचाउने भन्ने बारेमा नेतृत्वले सोच्नुपर्ने बताएका छन्।
नेपाली कांग्रेस गण्डकी प्रदेश कार्यालयको पोखरामा उद्घाटन गर्दै वरिष्ठ नेता पौडेलले १४औं महाधिवेशनपछि आफू पार्टीका उत्तर दिने ठाउँमा नभएको भन्दै पार्टीका पदाधिकारीहरुले चुनावमा जानुअघि जनतालाई आशा जगाउने सन्देश दिनेबारेमा सोच्न पर्ने बताए।
पौडेलले भने, ‘कांग्रेसका अगाडि चुनौतीको पहाड छ। अबको चुनौतीको पहाड भनेको आगामी चुनाव हो। ती चुनावमा जनतमा कसरी आशा जगाउने यो बारेमा पदाधिकारीहरुले सोच्न जरुरी छ। म अहिले उत्तर दिने ठाँउमा छैन। कांग्रेसलाई अन्तर्घातबाट कसरी बचाउने हो सोच्नु होला।’
पौडेलले पार्टी भित्रको गुटबन्दीलाई केबल महाधिवेशनमा मन लागेकोलाई जिताउन, मन नलगेकोलाई हराउनमा मात्र सीमित राख्नुपर्ने भन्दै गुटबन्दीलाई अन्तर्घातमा पुर्याउन नहुने स्पष्ट पारे।
वरिष्ठ नेता पौडेलले वर्तमान गठबन्धनलाई चुनावसम्म लैजानुपर्ने बताए। उनले कांग्रेससँग ३० प्रतिशत मात्र मत भएको बताउँदै उनले कांग्रेसभन्दा बाहिर रहेका ७० प्रतिशत मत एकै ठाउँमा गएमा के हुन्छ भनी प्रश्न गरे?
उनले संविधानमा नै अनुसार पनि कुनै पार्टीले एकल बहुमत जुटाउन नसक्ने भएकाले भविष्यमा सरकार बनाउने शक्तिहरुले चुनावमा नै गठबन्धन बनाउन आवश्यक रहेको बताए। पौडेलले भने, ‘ संविधानमा भएको समावेशी व्यवस्थाका कारण कुनै पनि पार्टीको बहुमत आउँदैन। त्यसकारण सरकार चलाउनका लागि पनि अरु पार्टीसँग गठबन्धन गर्नै पर्छ।’
माघ २३, २०७८ आइतबार १५:५२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।