आलेको दोहोरो चरित्र : जसले १८ वर्षदेखि पशुपतिको सम्पत्ति कब्जा गर्‍यो उसैलाई मन्त्रीको सहयोग

आलेको दोहोरो चरित्र : जसले १८ वर्षदेखि पशुपतिको सम्पत्ति कब्जा गर्‍यो उसैलाई मन्त्रीको सहयोग

काठमाडौँ : गौशाला धर्मशाला वर्षको ५१ हजारमा भाडामा लिएको विषयमा छानबिनमा परेको संस्था मारवाडी सेवा समितिको कार्यक्रममा गएर पर्यटन मन्त्री प्रेम आलेले संस्थालाई आफ्नो मन्त्री भए बापत आउने पाँच महिनाको पारिश्रमिक दिने घोषणा गरे।

गाई पाल्न राखिएको क्षेत्र अतिक्रमण गर्दै व्यापार विस्तार गरेको र मासिक ५० लाख बढी भाडा लिए पनि कोषलाई भने वर्षको ५१ हजार मात्रै बुझाउने गरेको छ। यसबारेमा पटक-पटक समाचार लेखिँदै आए पनि राज्य सत्तालाई प्रभाव पार्न सक्ने व्यापारीहरूको संस्थाले धर्मशाला पाएका कारण यसको सामान्य पुनरावलोकन समेत हुन सकेको छैन।

अति सस्तो दरमा धर्मशाला भाडामा लिएर व्यापारिक प्रयोजनमा प्रयोग गरेको र अनियमितरुपमा संरचना बनाएको आशङ्कामा पशुपति क्षेत्र विकास कोषले नै छानबिन गरिरहेको समितिकै कार्यक्रममा मन्त्री सहभागी मात्रै भएनन् गजब काम गरेको भन्दै आफ्नो पाँच महिनाको तलब दिने घोषणा गरे। 

रिङरोडसँगै जोडिएको धर्मशालालाई व्यवसायीक रूपमा चलाउँदै गौशालालाई खुम्च्याउँदै लगेको र कोषसँग अनुमति नै नलिई अवैध संरचना बनाएको भन्दै कोषले मारवाडी विकास समिति र कोषबिच भएको सम्झौताबारे छानबिन गरिरहेको कोषका कोषाध्यक्ष नारायणप्रसाद सुवेदीले दाबी गरेका थिए

गौशाला चोकमा रहेको धर्मशाला

शनिवार मन्त्री आले सोही धर्मशालामा भएको कार्यक्रममा सहभागी हुँदै आफ्नो मन्त्रालय अन्तर्गतको विकास समितिले छानबिन गरिरहेको संस्थाको प्रशंसा मात्र गरेनन् आफ्नो पारिश्रमिकै दिने घोषणा समेत गरे।

समितिको ६९ औँ स्थापना दिवसका अवसरमा त्यही धर्मशालामा आयोजित कार्यक्रममा उनी सहभागी हुँदै भने' समितिले गर्दै आएको काम र सहयोग मलाई अति नै मन परेको छ। सेवामा थप सहयोग पुगोस् भनेर म आफ्नो पाँच महिनाको तलब दिनेछु, सोमबारसम्म सहयोग रकमको चेक हस्तान्तरण गर्नेछु।'

उनले कार्यक्रममा धर्मशालाको दुरुपयोग गरेकोमा समितिलाई खबरदारी गर्नुको साटो सरकारलाई खबरदारी गर्न आग्रह गरेर फर्किए।

'सरकार कहाँ चुकेको छ, कहाँ कमजोरी भएको छ, खबर गर्नुहोस्, म तत्काल सुधार गर्ने छु, यो मेरो बाचा भयो,' उनले भने।

तिलगंगामा भारत सरकारले २५ करोड खर्च गरेर बनाइदिएको पशुपति धर्मशाला मासिक ८ लाख ७८ हजारमा भाडामा दिने कोषको निर्णय मिलेमतोमा भएको भन्दै कोषले सम्झौता खारेज गर्ने तयारी गरिरहेको छ।

गौशालाको आडमा कुनै समितिले व्यापार गरिरहेको छ। पशुपति मन्दिरको सम्पत्तिको दुरुपयोग रोक्न माग भइरहेको छ। तर मन्त्री अतिक्रमण गर्ने संस्थाको कार्यक्रममा सहभागी भएर प्रशंसा गरिरहेका छन्।

गौशालाको आडमा व्यापार

जहाँ धर्मशाला छ त्यो पशुपतिमा छाडिने गाई र गोरुहरू राख्न भण्डारखालको छेउमा बनाइएको थियो। पछि गौशालासँगै पशुपति मन्दिर दर्शन गर्न आउने दर्शनार्थीहरुलाई बस्न सहज होस् भनेर सानो धर्मशाला बन्यो।

गौशालाको चोकमै रहेको धर्मशालामा मारवाडी समितिको आँखा पर्यो। पशुपति क्षेत्र विकास कोषभन्दा पनि पशुपति मन्दिरका मुलभट्ट शक्तिशाली भएको बेलामा उसले धर्मशाला भाडामा पायो मासिक चार हजार २ सय तिर्ने गरी।

धर्मशाला भित्रको दृष्य

समितिले धर्मशालाको वरिपरि दर्जन बढी सटर भाडामा लगाएको छ। एक सटरको मासिक भाडा ३० हजार कम छैनन्।

एक सटरको भाडाभन्दा पनि कम मासिक भाडामा नौ रोपनी क्षेत्रमा फैलिएको धर्मशाला परिसरमा सामाजिक संस्थाको नाममा व्यापारिक समूहले दोहन गरे पनि कोषले न भाडा पुनरावलोकन गरेको छ न सम्झौता नै पुनरावलोकन गर्ने प्रयास गरेको छ।

गाईका लागि छुट्टाइएको स्थानको जमिन अतिक्रमण गर्दै भवनको संरचना बढाएको, कोषको अनुमति नै नलिई भवनमा तलाहरू थपेको भन्दै पटक-पटक विवाद हुने गरेको छ।अहिले श शुल्क धर्मशालाको क्षेत्र ८० प्रतिशतबढि छ भने गौशाला मुस्किलले २० प्रतिशत भागमा छ।

सो जमिन पशुपति मन्दिरको हो भन्नेमा कुनै विवाद छैन। तर जब-जव यो धर्मशालाको सम्झौता चर्चामा आउँछ मारवाडी समितिका पदाधिकारीहरू आफूले सो भवन भाडामा लिएको भन्दा पनि सम्पत्तिको मोहिका रूपमा प्रस्तुत हुने गरेका छन्।

माघ २२, २०७८ शनिबार २२:४१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।