प्रजिअहरूलाई गृहमन्त्री खाँणको निर्देशन: सरुवा हुने बेला आयो भन्दै दिन गनेर नबस्नुस्

काठमाडौंः गृहमन्त्री बालकृष्ण खाँणले विभिन्न जिल्लाको शान्ति सुरक्षाको अवस्थाबारे आज प्रमुख जिल्ला अधिकारीहरूसँग जानकारी लिएका छन्। यही क्रममा उनले प्रजिअहरूलाई प्रभावकारी रूपमा कर्यासम्पादन गर्न निर्देशन पनि दिएका छन्।
उनले सरुवा हुने बेला आयो भन्दै दिन गनेर नबस्न र आफ्नो दायित्व पूरा गर्न पनि निर्देशन दिएका छन्। उनले जिम्मेवारी राम्रोसँग निभाएका प्रजिअहरूलाई मन्त्रालयले तोकिएभन्दा लामो समय प्रजिअ बनाएर राख्न सक्नेतर्फ पनि ध्यानाकर्षण गराएका थिए।
यस्तै जिल्लामा सुरक्षा निकायलाई परिचालन गर्ने जिम्मेवारी प्रजिअको रहेकाले सुरक्षा समिति र कतिपय अवस्थामा सर्वदलीय राजनीतिक बैठक बसाएर भए पनि प्रभावकारी काम गर्नुपर्ने उनले बताए।
आजको बैठकमा प्रत्येक प्रदेशबाट एक प्रजिअले वस्तुस्थितिबारे जानकारी गराएका थिए। प्रदेश नं १ बाट मोरङका प्रजिअ काशीराज दाहाल, मधेश प्रदेशबाट पर्साका प्रजिअ उमेशकुमार ढकाल, बागमती प्रदेशबाट मकवानपुरका प्रजिअ भरतमणि पाण्डे, लुम्बिनी प्रदेशबाट रुपन्देहीका प्रजिअ ऋषिराम तिवारी, गण्डकी प्रदेशबाट कास्कीका प्रजिअ जयराज आचार्य, कर्णाली प्रदेशबाट सुर्खेतका प्रजिअ खगेन्द्रप्रसाद रिजाल र सुदूरपश्चिम प्रदेशबाट कैलालीका प्रजिअ किरण थापाले जानकारी गराएका थिए।
माघ २२, २०७८ शनिबार २१:२०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।