विभिन्न स्थानमा भएको दुर्घटनामा एकै दिन १६ जनाको मृत्यु

काठमाडौंः देशका विभिन्न जिल्लामा भएको सवारी दुर्घटनामा परी आज एकै दिन १६ जनाको मृत्यु भएको छ। प्रहरी प्रधान कार्यालयले जनाएअनुसार प्युठान, सुनसरी, सिरहा, रुपन्देही, स्याङ्जा र धादिङमा भएका छुट्टाछुट्टै दुर्घटनामा १६ जनाको ज्यान गएको हो।
प्युठानको गौमुखी गाउँपालिका–६ ओखरपाटामा दुलही लिएर फर्कँदै गरेको ग१ज ५०९२ नम्बरको जीप सडकबाट १५० मिटर तल खसेर दुर्घटना भएको थियो। त्यसमा परी ८ जनाको मृत्यु भएको थियो।
यता सुनसरीको भोक्राहा नरसिहं गाउँपालिका–३ खुनिया पुलस्थित सडकमा ना८ख ८४९३ नम्बरको बस र ना२ख २९९६ नम्बरको ट्रक गए राति एकआपसमा जुधेर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको थियो।
सिरहा, गोलबजार नगरपालिका–४ स्थित सडकमा ना१ज ५९१२ नम्बरको गाडीको ठक्करबाट मिर्चैया नगरपालिका–६ बस्ने ४५ वर्षीय ब्रह्मदेव ठाकुरको पनि आजै मृत्यु भएको थियो। यस्तै रुपन्देही, तिलोत्तमा नगरपालिका–९ स्थित सडकमा लु३७प ६३५१ नम्बरको स्कुटर दुर्घटना हुँदा स्कुटर चालक सोही नगरपालिका–१५ कोटिहवा बस्ने २४ वर्षीय सुशान्त बस्यालको मृत्यु भएको थियो।
यता स्याङजाको, विरुवा गाउँपालिका–३ धोवादीस्थित भित्री सडकमा ग१ज ५९३९ नम्बरको जीप सडकदेखि अन्दाजी ५०० मिटर तल खसेर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
धादिङको धुनिवेशी नगरपालिका–१ बन्चरेस्थित सडकमा प्र३–०१–००३ क ७२५५ नम्बरको जेसिबी पनि आफैँ अनियन्त्रित भई सडकबाट अन्दाजी ४० मिटर तल खोल्सामा खसेर दुर्घटना हुँदा पहिचान नखुलेका एक व्यक्तिको मृत्यु भएको छ।
माघ २२, २०७८ शनिबार २०:५८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।