मारवाडी सेवा समितिलाई मन्त्री आलेले दिने भए पाँच महिनाको तलब

काठमाडौंः संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेमबहादुर आलेले मारवाडी सेवा समितिलाई आफ्नो पाँच महिनाको तलब दिने बताएका छन्। समितिको ६९औं स्थापना दिवसका अवसरमा पशुपति धर्मशालामा आयोजित एक कार्यक्रममा उनले यस्तो घोषणा गरेका हुन्।
मन्त्री आलेले भने, “सेवा समितिले गर्दै आएको काम र सहयोग मलाई अति नै मनपरेको छ, उक्त सेवामा थप सहयोग पुगोस् भन्ने हेतुले म आफ्नो पाँच महिनाको तलब दिनेछु, सोमबारसम्म उक्त रकमको चेक हस्तान्तरण गर्नेछु।”
समितिले स्थापना दिवसमा निःशुल्क कृतिम खुट्टा वितरण कार्यक्रम आयोजना गरेको थियो। यस्तै दुःखी गरिबका लागि चाहिने आवश्यक सहयोग गर्न आफू पनि तयार रहेको उनको भनाइ थियो।
आलेले आफू नेपालीको जनभावनाअनुसार काम गरिरहेको र कमजोरी भएमा खबर गर्न पनि अनुरोध गरेका छन्। उनले भने, “सरकार कहाँ चुकेको छ, कहाँ कमजोरी भएको छ, खबर गर्नुहोस्, म तत्काल सुधार गर्ने छु, यो मेरो बाचा भयो।”
माघ २२, २०७८ शनिबार १९:०६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।