सुनसरीमा बस र ट्रक जुध्दा मृत्यु भएकाहरूको सनाखत

सुनसरीः जिल्लाको कोशी गाउँपालिका–१ लौकहीमा गए राति बस र ट्रक जुध्दा मृत्यु भएका सबै जनाको सनाखत भएको छ। सो दुर्घटनामा तीन जनाको मृत्यु भएको थियो।
मृत्यु हुनेमा बस चालक झापा गोलधापका ४५ वर्षीय सरोज राई, बसमा सवार भारत पश्चिमबङ्गालका २३ वर्षीय निहाल प्रधान र ट्रक चालक बारा निजगढ–९ का २७ वर्षीय शेख फिरोज रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले बताए।
मृत्यु भएकाहरूको स्वास्थ्य परीक्षणपछि शव परिवारलाई बुझाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। दुर्घटनामा २७ जना घाइते समेत भएका थिए। तीमध्ये १० जनाको उपचार भइरहेको छ भने अन्य उपचारपछि घर फर्किएका छन्।
शुक्रबार साँझ ना५ख २९९६ नंको सिमेन्ट बोकेको ट्रक र पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना८ख ८४९३ नंको यात्रुवाहक बस एकापसमा जुधेका थिए। दुर्घटनालगत्तै बस र ट्रकमा आगलागी पनि भएको थियो। आगलागीमा परी तीन जनाको जलेर मृत्यु भएको हो।
माघ २२, २०७८ शनिबार १७:२५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।