गण्डकीमा शनिबार एक सय २३ सङ्क्रमित थपिए, दुई जनाको मृत्यु

पोखराः गण्डकी प्रदेशमा थप एक सय २३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा चार सय १२ जनामा गरिएको नमुना परीक्षणमा एक सय २३ जनामा सङ्क्रमण देखिएको हो।
सङ्क्रमितमध्ये ६५ महिला र ५८ पुरुष रहेका छन्। गण्डकी प्रदेशमा तेस्रो लहरको आमिक्रोन सङ्क्रमण फैलिएपछि दैनिक एक हजारको संख्यामा सङ्क्रमित भेटिने गरेकोमा केही दिन यता क्रमश संक्रमितको संख्या घट्दो छ।
प्रदेशमा विभिन्न जिल्लाहरूमा गरिएको परीक्षणमा सबैभन्दा धेरै कास्कीमा सङ्क्रमित भेटिएको प्रदेश स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्रका सञ्योजक नवराज शर्माले जनाकारी दिए। उनका अनुसार कास्कीमा ६७, पर्वतमा ६, लमजुङमा ३, तनहुँमा ३, नवलपरासीपूर्वमा ६, स्याङजामा १३, बागलुङमा ३, गोरखामा ४, मुस्ताङमा ७ र म्याग्दीमा ११ जनामा सङ्क्रमण देखिएको हो।
योसँगै गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या एक लाख ६ सय १५ पुगेको छ।
गण्डकीमा कोरोना सङ्क्रमणबाट थप दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा नवलपरासीपूर्व, कावासोती नगरपालिका–५ की ६२ वर्षीय महिला र बागलुङको बागलुङ नगरपालिका–१४ का ८२ वर्षीय पुरुष रहेका छन्।
बागलुङका पुरुषको पोखरास्थित मणिपाल शिक्षण अस्पतामा र नवलपरासीकी महिलाको चितवनको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ। योसँगै गण्डकीमा कारोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या एक हजार चार सय ४३ पुगेको छ।
प्रदेशमा पछिल्लो २४ घण्टामा सात सय ९० जना कोरोना सङ्क्रमणमुक्त भएका छन्। योसँगै गण्डकीमा हालसम्म सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ९५ हजार दुई सय ५२ पुगेको छ भने होम आइसोलेसनमा तीन हजार आठ सय ६० जना रहेका छन्।
त्यसैगरी गण्डकीमा सक्रिय सङ्क्रमितको सङ्ख्या तीन हजार नौ सय २० पुगेको निर्देशनालयले जानकारी दिएको छ।
माघ २२, २०७८ शनिबार १७:१४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।