विपद्मा परेकालाई राहत दिन गृहमन्त्री खाँणको निर्देशन

विपद्मा परेकालाई राहत दिन गृहमन्त्री खाँणको निर्देशन

काठमाडौंः गृहमन्त्री बालकृष्ण खाँणले विपद्मा परेका नागरिकलाई राहत उपलब्ध गराउन निर्देशन दिएका छन्। हिजो मधेश प्रदेशमा हावाहुरीका कारण ज्यान गुमाउने तीन जनाका परिवारसहित हिमपात प्रभावितहरूलाई राहत उपलब्ध गराउन मन्त्री खाँणले निर्देशन दिएका हुन्।

विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखाका प्रमुख सहसचिव प्रदीपकुमार कोइराला तथा तराईका दुई, हिमाली क्षेत्रका आठ जिल्लाका प्रमुख जिल्ला अधिकारी र एक सहायक प्रमुख जिल्ला अधिकारीलाई उनले तत्काल राहत उपलब्ध गराउन निर्देशन दिएका हुन्।

शुक्रबार दिउँसो धनुषाको सवैला नगरपालिका-१२ मा मसलाको रुख ढल्दा ८ वर्षीया प्रतीमाकुमारी सदा र ७ वर्षीय अरविन्द सदाको मृत्यु भएको थियो।

त्यस्तै शुक्रबारै रौतहटको बुधिमाई नगरपालिका-१ मा कच्ची घर ढलेर भित्ताले च्याप्दा ४५ वर्षीया फुलमतिया देवीको मृत्यु भएको थियो।

यस्तै न्यून चापीय प्रणालीका कारण देशभर उच्च पहाडी तथा हिमाली भेगमा हिमपात भएको थियो। हिमपातका कारण राजमार्ग अवरुद्ध हुनुका साथै जनजीवन प्रभावित बनेको थियो।

माघ २२, २०७८ शनिबार १४:४९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।