साझेदार हत्या घटनामा थप २ जना पक्राउ

मोरङ : जिल्ला प्रहरी कार्यालय मोरङले साझेदार हत्या प्रकरणमा थप २ जना सहयोगीलाई पक्राउ गरेको छ। मोरङको उखुबारी र ललितपुरको एक घरमा भएको एकै समूहका तीन जनाको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले शनिवार ३० वर्षीय मोहम्मद सुभान मिया र १८ वर्षीय हकिम मन्सुरीलाई पक्राउ गरेको हो।
यी दुवैले हत्याका लागि मुख्य आरोपी अनिलकुमार मण्डललाई सघाएको प्रहरीको दाबी छ। व्यापारिक साझेदारीलाई एकलौटी बनाउने र कमिसनको लोभमा आफ्ना तीन साथीको हत्या गरेको आरोपमा प्रहरीले मण्डलसहित तीन जनालाई पक्राउ गरिसकेको छ।
प्रहरीले मण्डलसहित २९ वर्षीय अमित साह भनिने दिनानाथ सोनार र ६२ वर्षीय नासिर आलमाई पक्राउ गरिसकेको छ।
मोरङको धनपालथान गाउँपालिका वडा नं.-७ स्थित उखुबारीमा मिति माघ १२ मा ३२ वर्षका शम्भु कुमार चौधरी र सोही स्थानमा १३ गते वर्ष ४८ का राजेन्द्र कुमार श्रेष्ठको शव फेला परेको थियो। यी दुवै एकै समूहका सदस्य थिए।
प्रहरीले सोही समूहका तेस्रो व्यक्ति ६३ वर्षीय मोहन लिम्बुको शव ललितपुरको एक घरको कम्पाउन्डमा गाडेको अवस्थामा फेला पारेको थियो।
प्रारम्भिक अनुसन्धानमा मण्डलले हाइड्रो र सिमेन्ट लगानीसँगै जग्गा कारोवारको कमिसनका लागि आफ्नै समूहका तीन जनाको हत्या गरेको देखिएको छ।
माघ २२, २०७८ शनिबार १४:०४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।