प्रशासन कार्यालय काभ्रेले आइतबारदेखि आलोपालो सेवा दिने 

प्रशासन कार्यालय काभ्रेले आइतबारदेखि आलोपालो सेवा दिने 

काभ्रे : काभ्रेमा दुई सातादेखि स्थगित सेवा आइतबारबाट आलोपालोमा सुरु हुने भएको छ।

जिल्ला प्रशासन कार्यालय काभ्रेले कोरोना सङ्क्रमणको उच्च जोखिमका कारण स्थगन गरिएको सेवा आइतबारदेखि आलोपालोमा सुचारु गर्ने जानकारी दिएको हो।

सहायक प्रमुख जिल्ला अधिकारी अमरदिप सुनुवारले सूचना निकालेर स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाइ स्थानीय तहगत रूपमा सेवा लिन आग्रह गरेका छन्। 

कार्यालयका केही कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि यही माघ ९ गतेदेखि २१ गतेसम्म अत्यावश्यक बाहेकको सेवा स्थगन गरिएको थियो। 

प्रशासन कार्यालय काभ्रेले आइतबार धुलिखेल नगरपालिका र रोशी गाउँपालिका, सोमबार बनेपा नगर र चौंरीदेउराली गाउँपालिका, मङ्गलबार पनौती नगर र बेथानचोक गाउँपालिकाका नागरिकले सेवा पाउने जनाएको छ। 

यस्तै, बुधबार पाँचखाल नगर र तेमाल गाउँपालिका, बिहीबार मण्डनदेउपुर नगर र भुम्लु गाउँपालिका तथा शुक्रबार नमोबुद्ध नगर र खानीखोला गाउँपालिकाको नागरिकलाई सेवा प्रवाह गरिने सूचनामा उल्लेख गरिएको छ। महाभारत गाउँपालिकाले इलाका प्रशासन कार्यालयबाट सेवा पाउने प्रशासन कार्यालय काभ्रेले जनाएको छ।

माघ २२, २०७८ शनिबार ०८:१८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।