तीन संस्थाका चार जना विरुद्ध १८ करोड राजश्व छलीको मुद्दा

तीन संस्थाका चार जना विरुद्ध १८ करोड राजश्व छलीको मुद्दा

काठमाडौँ : १८ करोड २७ लाख बिगो बराबरको राजस्व छली गरेको आरोपमा राजस्व अनुसन्धान विभागले तीन संस्थाका चार जना विरुद्ध मुद्दा दायर गरेको छ।

विभागले राजश्व छलीको आरोपमा चार जनाविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो। विभागको जानकारी अनुसार काठमाडौँको चुच्चेपाटी बस्ने ब्रिङ मिडिया डिष्ट्रिब्युसन प्रालिका सञ्चालक चन्द्रबहादुर अधिकारी, काठमाडौँ महानगरपालिका–१० मा रहेको स्टार इण्डिया प्रालि भारतका आधिकारिक बिक्रेता जुपिटर मिडियाका सञ्चालक अञ्जली अरोरा र ब्रिङ मिडियाका व्यवस्थापक सुरेन्द्र क्षेत्री र सुमन क्षेत्रीविरुद्ध राजश्व छलीमा मुद्दा दायर भएको हो।

ती कम्पनीहरूले विभिन्न फर्म/कम्पनीबाट वस्तु तथा सेवा बेगरको कर बिजक मात्र लिई, सम्झौताअनुसारको आय लुकाई राजस्व छली गरेको विभागको दाबी छ।

ती कम्पनीको नाममा खोलिएका बैङ्क खातामा जम्मा भएको रकमलाई वास्तविक कारोबारमा समावेश नगरी नपाउने खर्चसमेत दाबी गरेको पाइएको विभागद्वारा जारी सूचनामा उल्लेख छ।

मूल्य अभिवृद्धि करतर्फ क्रेडिट दाबी र आयकरतर्फ खर्च दाबी गरी मूल्य अभिवृद्धि कर तथा आयकर छली गरेको अनुसन्धानमा खुलेको विभागले दाबी गरेको छ। 

माघ २१, २०७८ शुक्रबार २२:३८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।