काठमाडौंमा पछिल्लो २४ घण्टामा ४१.९ मिलिमिटर वर्षा, नेपालगञ्जमा सबैभन्दा बढी
काठमाडौंः शुक्रबार साँझबाट परेको झरीका कारण देशभर जनजीवन अस्तव्यस्त बनेको छ। पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले उच्च पहाडी तथा हिमाली भेगमा भने हिमपात भएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४१.९ मिलिमिटर वर्षा भएको छ। काठमाडौं उपत्यकाका डाँडाहरूमा भने हिमपात भएको छ। फूल्चोकी, चन्द्रागिरि, शिवपुरी, नगरकोटलगायतका अग्ला स्थानमा हिमपात भएको छ।
यस्तै आज काठमाडौंको अधिकतम तापक्रम ९.३ डिग्री सेल्सियस रहेको थियो भने न्यूनतम तापक्रम ४.९ रहेको थियो।
यता अहिले पनि देशभर सामान्यदेखि पूर्ण बदली भई धेरै स्थानहरूमा मेघगजर्न/चट्याङसहित हल्का वर्षा भइरहेको छ। आज सबैभन्दा बढी नेपालगञ्जमा ६४.८ मिलिमिटर वर्षा भएको छ भने क्रमशः वीरेन्द्रनगरमा ५२.२, जुम्लामा ५०.७ मिलिमिटर वर्षा भएको छ।
यस्तै घोराहीमा ३३.१, भैरहवामा ३०.९, पोखरामा २९.६, ओखलढुंगामा २२.६ र जनकपुरमा १८.४ मिलिमिटर वर्षा भएको छ।
महाशाखाका अनुसार यो मौसम प्रणाली अझै कायमै रहेको छ। आज राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रही प्रदेश नं १, मधेश, बागमाती र गण्डकी प्रदेशका केही स्थानहरूमा मेघगजर्न/चट्याङ/असिनासहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका थोरै स्थानमा भने हल्का वर्षाको सम्भावना रहेको छ।
माघ २१, २०७८ शुक्रबार १९:५९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।