मन्त्रालय सङ्ख्या थप गर्न लागेको भन्दै मुख्यमन्त्रीलाई अनेरास्ववियूले देखायो कालो झण्डा

इटहरीः प्रदेश १ सरकारले अनावश्यक मन्त्रालय सङ्ख्या थप गर्न लागेको भन्दै नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियूले विरोध जनाएको छ। काठमाडौंबाट विराटनगर विमानस्थल अवतरण हुनेक्रममा मुख्यमन्त्री राजेन्द्रकुमार राईलाई अनेरास्ववियूका नेता/कार्यकर्ताहरूले कालो झण्डा देखाएका हुन्।
विमानस्थलबाट सिधै इटहरी पुगेका उनलाई इटहरीमा पनि अनेरास्ववियूका कार्यकर्ताले कालो झण्डा देखाएका थिए।
प्रदेश १ मा मन्त्रीहरू थप गर्ने र मन्त्रालय टुक्र्याउने सरकारको निर्णयको विरोध र स्थानीय तहको निर्वाचनमा समयमै नगरेको भन्दै कालो झण्डा देखाएको अनेरास्ववियूका नेता जिवि गजलले बताए। कालोझण्डा देखाउन सडकमा उत्रिएका कार्यकर्तालाई प्रहरीले रोकेको थियो।
'नालायक सरकार मुर्दावाद', 'भ्रष्ट सरकार मुर्दावाद', 'मन्त्रालय फुटाउन पाइँदैन' लगायतका नारा लगाउँदै उनीहरूले मुख्यमन्त्रीको बाटो छेक्ने प्रयास गरेका थिए।
प्रदेश मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले मन्त्रिपरिषद् कार्यविभाजन नियमावली संशोधनसहित पारित गर्दै मन्त्रालय विस्तार गर्ने निर्णय गरेको थियो।
मन्त्रिपरिषद्को सोही निर्णयबमोजिम प्रदेश १ मा तत्काल कायम रहेका ७ मन्त्रालयलाई अब १२ वटा मन्त्रालयमा विभाजन गरिने भएको छ।
माघ २१, २०७८ शुक्रबार १६:५८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।