उत्तेजनापूर्ण अभिव्यक्ति नदिन मन्त्री यादवलाई मानवअधिकार आयोगको निर्देशन

उत्तेजनापूर्ण अभिव्यक्ति नदिन मन्त्री यादवलाई मानवअधिकार आयोगको निर्देशन

काठमाडौंः राष्ट्रिय मानवअधिकार आयोगले भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवलाई उत्तेजनापूर्ण अभिव्यक्ति नदिन निर्देशन दिएको छ। गौर नरसंहार दोहोर्याउने अभिव्यक्ति दिएकी मन्त्री यादवलाई आज आयोगको कार्यालयमा बोलाएर यस्तो निर्देशन दिइएको हो।

आयोगले जिम्मेवार पदमा रहेका व्यक्तिहरुले अभिव्यक्ति दिँदा मानवअधिकारको मूल्य मान्यतालाई आत्मसात् गर्दै सामाजिक सद्भाव, शान्ति सुरक्षा र अमनचैनलाई ख्याल गर्न पनि आग्रह गरेको छ।

मन्त्री यादवले भने आफूले श्रद्धाञ्जलि सभामा दिएको अभिव्यक्ति अनियन्त्रित र असन्तुलित हुन पुगेको र भविष्यमा यस्ता अभिव्यक्ति नदोहोर्याउने प्रतिबद्धता व्यक्त गरेको आयोगले जनाएको छ। उनले आफूले दिएको अभिव्यक्ति असन्तुलित भए पनि कसैप्रति लक्षित र पूर्वाग्रही नरहेको, हिंसा तथा मुठभेड गर्ने आफ्नो मनसाय नरहेको पनि बताएकी थिइन्।

आयोगका अध्यक्ष तपबहादुर मगरले राजनीतिक प्रतिस्पर्धालाई स्वस्थ र हिंसारहित बनाउनुपर्ने र भविष्यमा त्यस प्रकारका अभिव्यक्ति नदोहोर्याउन मन्त्री यादवलाई निर्देशन दिएका थिए। 

माघ २०, २०७८ बिहीबार २०:३९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।