'इन्जिनियरको फोटोसँगै मेरो नाम जोड्नुले आशङ्का पैदा भयो'

काठमाडौँ : कोभिड-१९ युनिफाइड अस्पतालका निमित्त प्रमुख डा भूपेन्द्र बस्नेतले उकेरामा आफूबारे प्रकाशित सामाग्रीबारे आफ्ना धारणा राखेका छन्। उनले उकेराको आधिकारिक इमेलमा पठाएको उनको धारणा केही सम्पादन सहित जस्ताको त्यस्तै प्रकाशित गरिएको छ।
OOO
केही समयदेखि निरन्तर रूपमा मेरो नाम जोडी विभिन्न भ्रामक समाचारहरू सम्प्रेषण गरिएकोप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ।
पत्रकारिताको मूल्य र मान्यता विपरीत कुनै पनि व्यक्तिलाई लक्षित गरी कपोकल्पित रूपमा समाचार बनाई सरोकार र सम्बन्ध नै नभएको व्यक्तिसँग जोडेर अत्यन्तै भ्रामक एवं चरित्र हत्या गर्ने मनसायले सामाजिक सञ्जालका विभिन्न समूहमा व्यापक प्रचार गरेर मेरो व्यक्तिगत जीवनसाथी नै आँच आउने क्रियाकलाप गरेकोप्रति मेरो गम्भीर आपत्ति रहेको छ।
एक जना इन्जिनियरको फोटो प्रकाशित गरी बिना तथ्य र प्रमाणको आधारमा मेरो नाम जोड्नुले मेरो पारिवारिक रूपमा समेत आशङ्का पैदा गर्ने कार्यले तपाईँको अनलाइन पत्रकारिताको वास्तविक भावना र मर्मलाई समेत आघात पुग्नु पर्ने थियो।
यद्यपि आधिकारिता पुष्टि नहुँदै वा सबुत प्रमाणहरू बिना नै मेरो पछि लागेर व्यक्तिगत रूपमा मानहानि पुर्याउनु मानव अधिकार विपरीत भएको मेरो ठहर छ। आफैले गरेको विज्ञापनलाई सोही निकायले मेरो फाइल अर्को निकायमा पेस गरेर सदर हुनुमा मेरो कुनै कमीकमजोरी भए जस्तो लाग्दैन।
गत असोज २७ मा विज्ञापन भएको र मैले नियमसंगत तवरबाट उक्त विज्ञापन अनुसार आवेदन गरेको हुँ। सोही विज्ञापन अनुसार प्रक्रिया अगाडी बढेको हो। मैले सन् २०१४ मा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानबाट डिएम ग्यास्ट्रोईन्टेरोलोजी पास गरेको, सन् २०२० मा रोयल कलेज अफ इडेनबर्गबाट एफआरसीपि उपाधि समेत प्राप्त गरेको र २० वर्षदेखि निरन्तर रूपमा नेपाल सरकारको कर्मचारी भई स्वास्थ्य सेवा प्रवाह गर्दै आइरहेको छु।
स्वास्थ्य सेवा प्रवाहलाई प्राथमिकतामा राखी सेवामा समर्पित व्यक्तिलाई यो वा त्यो बाहान बनाई व्यक्तिगत रूपमा विभिन्न लाल्छाना लगाउनु र सामाजिक सञ्जालको व्यापक दुरुपयोग गर्नु कति न्यायोचित छ?
समाचार सङ्कलन तथा प्रसारण गर्नु, नागरिकलाई सुसूचित बनाउनु तपाईँको दायित्व हो। त्यस कुरामा म पूर्ण विश्वस्त छु तर यसरी एक जना व्यक्तिलाई बारम्बार रूपमा आधिकारिता पुष्टि नहुँदै व्यक्तिगत चरित्र नै हत्या गर्ने हेतुले समाचार प्रसारण गर्नु अझ त्यसमा पनि सामाजिक सञ्जालको व्यापक दुरुपयोग गर्नु न्यायोचित नभएको हुनाले उक्त समाचारको म कडा रूपमा खण्डन गर्दछु।
उक्त समाचारले मेरो प्रतिष्ठा, इज्जत र मैले चिकित्सा सेवामा पुर्याउँदै आइरहेको योगदानको अवमूल्यन भएको, मेरो बारेमा सर्वसाधारण नागरिकहरूमा भ्रम सिर्जना गरिएको र मेरो व्यक्तिगत जीवनलाई समेत गम्भीर क्षति पुर्याइएको महसुस गरेको छु।
स्वतन्त्र, स्वस्थ पत्रकारिता हरेक पत्रकारको अधिकार हो। तर कसैमाथि सञ्चालित भएर गरिने पत्रकारिता अपराध हो। एक नागरिकले आफूमाथि भएको अन्यायको विरुद्धमा कानुनी उपचारहरू अपनाउने बाटाहरू पनि खुल्ला नै छन्। त्यसैले यस्तो गलत, अस्वाभाविक र चरित्र हत्या गर्ने प्रायोजनार्थ पत्रकारिताको दुरुपयोग नगर्न नगराउन समेत म हार्दिक अनुरोध गर्दछु।
भ्रामक समाचारका कारण मेरो सामाजिक तथा पदीय मर्यादामा पुगेको क्षति पूर्ति हुन सक्दैन यद्यपि, मेरो भनाइलाई तपाईँको अनलाइनमा जस्ताको तस्तै प्रकाशित गरी आम जनमानसमा सिर्जना भएको भ्रम चिर्न आग्रह पनि गर्दछु।
उकेराको भनाई
वीर अस्पताल र पछि कोभिड-१९ युनिफाइड अस्पतालको नेतृत्वमा आएपछिका डा बस्नेत संलग्न गतिविधि प्राप्त प्रमाणको आधारमा उकेराले प्रकाशित गर्दै आएको हो। र भावी दिनमा पनि प्रकाशित गर्ने नै छ।
हाम्रो उद्देश्य कुनै व्यक्ति विशेषको पछि लाग्नेभन्दा पनि पाएको जिम्मेवारी पुरा भएको छ/छैन अनुगमन र निगरानी गर्नु हो। हामीले सोही धर्म अनुसार सबै सामाग्रीमा डा बस्नेतको प्रतिक्रियासहित र प्राप्त प्रमाणको मिहिन अवलोकनपछि मात्रै समाचार प्रकाशित गरेका छौँ र प्रकाशित सामाग्रीको पूर्ण जिम्मेवारी लिन्छौँ।
३९ करोडमा खरिद गरेको सामान अझै सशस्त्र प्रहरीको चौरमै थन्कनु, वीर अस्पतालमा उपचारका लागि आउने सेवाग्राहीलाई म्याद सकिएका स्वास्थ्य सामाग्रीको प्रयोग भइरहेकोबारे उकेरामा समाचार प्रकाशित भएपछि नष्ट हुनु र डा बस्नेतको बढुवाको प्रक्रियाबारे उकेरामा निरन्तर समाचार प्रकाशित भएपछि लोकसेवाको पत्रको आधारमा बढुवा समितिले रद्द गर्नुले नै उकेरामा प्रकाशित समाचारको तथ्यको पुष्टि गर्ने हाम्रो विश्वास छ।
बायोमेडिकल इन्जिनियरको सम्बन्धमा समाचार प्रकाशित गर्नु अगाडि डा बस्नेतको धारणा लिन पटक पटक फोन गरेको र रेस्पोन्स नभएपछि सम्पर्क गर्न खोज्नुको कारण खुलाउँदै पठाएको एसएमएस सुरक्षित नै छ।
प्राप्त प्रमाणको आधारमा सम्बन्धीतको धारणासहित समाचार प्रकाशित गर्ने हाम्रो पेसागत धर्मबाट हामी विचलित छैनौँ। काम गर्ने क्रममा कमजोरी हुनसक्छ। त्यसका लागि कानुनी उपचार खोज्ने हरेक नागरिकको संवैधानिक अधिकारको हामी सम्मान गर्छौँ । हामीले प्रकाशित गरेको सामाग्री कति तथ्य परक छ त्यसको निर्क्योल गर्न पाठकलाई सहज होस् भनेर प्रकाशित सामाग्रीको लिङ्क तल राखेका छौँ।
अन्तमा उकेरामा प्रकाशित सामाग्रीबाट डा बस्नेतको व्यक्तिगत र पेसागत जीवनमा परेको नकारात्मक असरप्रति उकेरा दुख व्यक्त गर्दै आगामी यात्रामा सरकारले दिएको जिम्मेवारी इमानदारीताका साथ पुरा गरेर उदाहरणीय व्यक्तित्वको रूपमा समाजमा स्थापित हुन हामी डा बस्नेतलाई शुभकामना दिन चाहन्छौँ।
प्रतिक्रियाका लागि डा बस्नेतलाई उकेरा परिवारको तर्फबाट धन्यवाद।
- प्रधान सम्पादक।
बस्नेतबारे उकेरामा प्रकाशित सामाग्री
माघ २०, २०७८ बिहीबार १९:५६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।