उपत्यकामा ३५ हजारभन्दा बढी सक्रिय सङ्क्रमित, ७० प्रतिशत नागरिकले लगाए दुवै मात्रा खोप

काठमाडौंः नेपालमा पछिल्लो २४ घण्टामा थप तीन हजार एक सय ७५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। १२ हजार ६ सय पाँच जनाको नमूना परीक्षण गरिएकोमा तीन हजार एक सय ७५ पोजेटिभ भएका हुन्।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामै आठ हजार सात सय २३ जना सङ्क्रमणमुक्त पनि भएका छन्। हाल निको हुने दर ९२ दशमलव दुई प्रतिशत रहेको मन्त्रालयले जनाएको छ।
हाल देशभर ६३ हजार दुई सय ९६ जना सक्रिय सङ्क्रमित रहेका छन्। काठमाडौं उपत्यकामा भने कुल सक्रिय सङ्क्रमितको सङ्ख्या ३५ हजार सात सय ४८ रहेको छ। काठमाडौंमा २१ हजार सात सय ३६, ललितपुरमा नौ हजार तीन सय ६० र भक्तपुरमा चार हजार ६ सय ५२ सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ।
यस्तै नेपालमा कोभिड–१९ विरुद्धको दुवै मात्रा खोप लगाउने १८ वर्षमाथिको उमेर समूहका ७० प्रतिशत रहेका छन्। नेपाल सरकारले आउँदो चैत मसान्तसम्ममा १८ वर्षमाथिका सतप्रतिशत नागरिकलाई पूर्ण खोप लगाइसक्ने लक्ष्यसहित देशभर खोप अभियान चलाइरहेको छ।
माघ २०, २०७८ बिहीबार १८:५२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।