प्रधानसेनापति खुला म्याराथन फागुन १४ मा, प्रथम हुनेलाई तीन लाखसहित मोटरसाइकल उपहार

काठमाडौंः यसवर्षको प्रधानसेनापति खुला म्याराथन आगामी फागुन १४ मा हुने भएको छ। फागुन १७ मा रहेको महाशिवरात्रि पर्व तथा सेना दिवसको केही दिनअघि प्रतियोगिता हुने भएको हो।
‘मनोरञ्जनका लागि खेल: एकता, सामूहिक भावना र सामर्थ्य’ भन्ने नाराका साथ आयोजना हुने उक्त प्रतियोगितामा ४२.१९५ किमी पुरुष म्याराथन तथा २१ किमी महिला/पुरुष हाफ म्याराथन गर्न लागिएको केन्द्रका प्रमुख महासेनानी मुनाल बस्नेतले बताए।
सैनिक अधिकृत र सैनिक सहचारी महिला/पुरुषको सहभागितामा १० किमी दौड तथा उपत्यकाभित्रका सहायक रथी र सोभन्दामाथिका रथीबृन्द, सैनिक श्रीमती सङ्घका कार्यकारिणी पदाधिकारी सम्मिलित पाँच किमी वाकाथन पनि आयोजना हुने भएको छ।
म्याराथनमा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः रु तीन लाख, दुई लाख र एक लाख नगद प्रदान गरिने छ। हाफ म्याराथनमा पहिला, दोस्रो र तेस्रो स्थान प्राप्त गर्नेलाई क्रमशः रु ७५ हजार, रु ५० हजार र रु ३५ हजार नगर पुरस्कार प्रदान गरिनेछ। म्याराथनमा प्रथम हुनेलाई सिसिक अटोमोबाइल प्रालिले यामाहा मोटरसाइक र काठमाडौँ महानगरपालिकाले हाफ म्याराथनकी विजयी महिला धावकलाई स्कुटर प्रदान गर्ने भएको छ।
म्याराथनमा द्वितीय हुने र हाफ म्याराथनमा प्रथम हुने पुरुष धावकलाई पुरस्कारस्वरूप पनि मोटरसाइकल उपलब्ध हुनेछ। प्रतियोगितामा भाग लिन चाहनेलाई व्यक्तिगत र संस्थागतरूपमा शुक्रबारदेखि नाम दर्ताको व्यवस्था गरिएको सेनाले जनाएको छ।
माघ २०, २०७८ बिहीबार १७:२९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।