जनमत पार्टीको आन्दोलनबारे गृहमन्त्रीले गरे सिडिओलाई फोन

काठमाडौँ : गृहमन्त्री बालकृष्ण खाँणले पूर्वपश्चिम राजमार्गको अवस्थाबारे प्रमुख जिल्ला अधिकारीलाई टेलिफोन गरेर जानकारी लिएका छन्।
गृहमन्त्री खाँणले जनमत पार्टीले बिहीबारका लागि आव्हान गरेको राजमार्ग बन्दको अवस्थाबारे सोध्नु भएको नवलपरासी पश्चिमका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले जानकारी दिए।
मन्त्री खाँणले फोन गरेर जिल्लाको शान्ति सुरक्षा, कोरोना सङ्क्रमण र जनमत पार्टीको आन्दोलनबारे सोध्नु भएको मिश्रले बताए। ‘विभिन्न आन्दोलन भइरहेका छन्,जनमत पार्टीले राजमार्ग बन्दको आव्हान गरेको छ,’मिश्रले उकेरासँग भने,‘राजमार्गमा कुनै किसिमका अवरोध हुन दिँदैनौ।’
जनमत पार्टीको राजमार्ग बन्दको कुनै प्रभाव नपरेको र यातायातका साधन निर्बाध रूपमा सञ्चालन भइरहेको प्रमुख जिल्ला अधिकारी मिश्रले बताए। गृहमन्त्री खाँणले दरबन्दी अनुसारका दरबन्दी भए नभएको पनि सोधका थिए।
जवाफमा प्रमुख जिल्ला अधिकारी मिश्रले ३ जना अफिसरको दरबन्दी रहे पनि अहिले एक जना मात्रै कार्यरत रहेको बताएका थिए।
गृहमन्त्री खाँणले नवलपरासी पश्चिमसहित सुनसरीका इन्द्रदेव यादव, मोरङका काशीराज दाहाल, झापाका छविलाल रिजाल, बाराका कृष्णबहादुर कट्वाल, रुपन्देहीका ऋषिराम तिवारीसँग टेलिफोन वार्ता गर्नुभएको मन्त्री खाँणको निजी सचिवालयले जानकारी दिएको छ।
सचिवालयका अनुसार कपिलवस्तुका चक्रपाणि पाण्डे, कैलालीका किरण थापा, बाँकेका सूर्यबहादुर खत्री, बर्दियाका सन्तबहादुर सुनार, दाङका हिरालाल रेग्मी, पर्साका उमेशकुमार ढकाल, कञ्चनपुरका रामप्रसाद पाण्डे र नवलपरासी पूर्वका सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बराललाई फोन गरेका थिए।
माघ २०, २०७८ बिहीबार १०:४२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।