आक्रामक दोश्रो हाफ: नेपाल १० र मौरिसियस ९ खेलाडीमा सीमित

काठमाडौंः नेपाल र मौरिसियसबीच जारी दोश्रो मैत्रिपूर्ण खेलमा तीन जना खेलाडी र एक अफिसियलले रातो कार्ड पाएका छन्। खेलको ६९औं मिनेटमा मौरिसियसका खेलाडीले नेपालका अञ्जन विष्टलाई फल गरेपछि सुरु भएको तनावले आक्रामक रूप लिएको हो।
मौरिसियसका लागि १८ नम्बर खेलाडी एण्ड्रियनले फल गरेका थिए। उनले अञ्जनलाई मैदानमा लडाएपछि कुल्चिएका थिए। त्यसपछि नेपाली टीमका म्यानेजर मधुसुदन उपाध्याय र गोलकिपर प्रशिक्षक विकास मल्ल मैदान प्रवेश गरेका थिए।
दुवै टीमका खेलाडी र अफिसियल आक्रामक देखिएपछि रेफ्री नवीन्द्र महर्जनले नेपालका सुमन लामा र मौरिसियसका एप्रिनलाई रातो कार्ड दिए। अञ्जनलाई फल गराउने एण्ड्रियनले पनि रातो कार्ड पाए। उनीहरू मैदान बाहिर जान नपाउँदै रेफ्रीले मैदान प्रवेश गरेका म्यानेजर उपाध्यायलाई पनि रातो कार्ड दिए।
हाल खेल ८०औं मिनेटमा छ। खेलमा नेपाल १-० ले अघि छ।
नेपाल यतिबेला १० खेलाडीमा सीमित छ भने मौरिसियस ९ खेलाडीसहित मैदानमा छ।
माघ १८, २०७८ मंगलबार १८:३२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।