धार्चुला-दार्चुलामा पुल बनाउन नेपाल-भारतबिच सम्झौता

धार्चुला-दार्चुलामा पुल बनाउन नेपाल-भारतबिच सम्झौता

काठमाडौँ : महाकाली नदीमा गाडी गुड्ने पुल निर्माणका लागि नेपाल र भारतबिच सम्झौता पत्रमा हस्ताक्षर भएको छ।

भारत सरकारको अनुदान सहयोगमा महाकाली नदीमा भारतको धार्चुला र नेपालको दार्चुला जोड्ने गाडी गुड्ने पुलको निर्माणका लागि भारत र नेपालबिच एक सम्झौता पत्रमा हस्ताक्षर भएको हो।

नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्रा र नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव  रवीन्द्रनाथ श्रेष्ठबिच मङ्गलवार सम्झौता पत्रमा हस्ताक्षर भएको हो।

हस्ताक्षर कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु कुमारी यादव उपस्थित थिइन्। परियोजनाले नेपालको सुदूरपश्चिम प्रदेश र भारतको उत्तराखण्ड राज्यबिचको सीमा पार कनेक्टिभिटीलाई सुदृढ बनाउनुका साथै दुवै तर्फको सीमा समुदायबिच रहेको जनता-जनताबिचको सम्पर्कलाई थप मजबुत बनाउने नेपाल स्थित भारतीय दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

परियोजना वाणिज्य, सांस्कृतिक तथा जनता-जनताबिचको सम्बन्धलाई सुव्यवस्थित बनाउन दुई देशका सरकारले
प्राथमिकताका साथ अघि सारेको सीमा पार कनेक्टिभिटी अनुरूप रहेको विज्ञप्तिमा उल्लेख छ।

माघ १८, २०७८ मंगलबार १७:५१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।