ठेक्का तयारीको खुलासासँगै केशर महल पुगे शिक्षामन्त्री

स्वप्न बगैँचा विकास समितिसँगै केशर महललाई पनि जोडेर आर्थिक उपार्जनको बहानामा व्यापारिक प्रयोजनमा ठेक्कामा दिन मन्त्रालयका केही उच्च पदाधिकारीले गृहकार्य गरेका थिए। बगैँचा विकास समितिका पदाधिकारीसँगै एनआरएनका पूर्व अध्यक्ष शेष घलेको होटेल सेराटनले केशर महल प्रयोगमा चासो देखाउँदै आएको छ।
आइतबार केशर महल क्षेत्रको अनुगमन गर्दै शिक्षामन्त्री पौडेलले शिक्षा मन्त्रालय मातहतमा सरकारको भौतिक सम्पत्तिहरू निजी क्षेत्रलाई प्रयोग गर्न नदिने बताए। पौडेलले महल परिसरमा रहेको जमिन निजी क्षेत्रको प्रयोजनका लागि नदिने बताए।
सञ्चारमाध्यमहरूमा केशर महल बाहिरको जग्गा निजी क्षेत्रलाई निजी प्रयोजनका लागि दिन खोजेको भन्ने समाचारहरू प्रकाशित भएकाले महलको निरीक्षण गरेको बताउँदै उनले सरकारी संरचनाहरू नियमविपरित निजी क्षेत्रलाई प्रयोगमा दिएको पाइएमा कानुनअनुसार कारबाही गरिने बताएका थिए।
'कतै शिक्षा मन्त्रालय मातहतका निकायहरूले निजी क्षेत्रलाई निजी प्रयोजनको निम्ति बाहिरपट्टिको जमिन दिन खोजेको हो कि भन्ने आशयको कुराहरू आएको हुँदा शिक्षा मन्त्रालय र मेरो आफ्नो पनि ध्यानाकर्षण भएको कुरा हो,' पौडेलले भने'कुनै प्रकारको निजी क्षेत्रलाई शिक्षा मन्त्रालय मातहतका यस प्रकारको भौतिक सम्पत्तिहरू प्रयोग गर्न दिइने छैन, दिइँदैन। कहीँ कतै भए गरेको प्राप्त भएमा हामी राज्यको मातहतमा ल्याउने गरेर अघि बढ्छौँ।’
माघ १६, २०७८ आइतबार १४:४९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।