दाङमा मेयरका छोराविरुद्ध ठगी मुद्दा, ठेकेदारले दिए पक्राउ गर्न जाहेरी

दाङ : दाङका एक जना निर्माण व्यवसायीले झन्डै डेढ करोड ठगी गरेको प्रहरीमा जाहेरी परेको छ। घोराही १५ भरतपुर निवासी व्यवसायी गेहेन्द्र बस्नेतले निर्माण व्यवसायी अनुप पाण्डेविरुद्ध डेढ करोड रकम ठगी गरेको भन्दै प्रहरीमा जाहेरी दिएका हुन।
उनले घोराहीतुलसीपुर फोरलेन सडकमा आफ्ना टिपर लगाएकाले त्यसको भाडा र इन्धन बापत १ करोड ४४ लाख रुपैयाँ ठगी गरेको भन्दै पाण्डे विरुद्ध ठगी मुद्दामा जाहेरी दिएको बताए।
पटक पटक पैसा माग्न जाँदा नदिने र पाण्डे सम्पर्कमा नआउँदा आफ्नो घर खेत नै लिलामी हुने अवस्था आएकाले बाध्य भएर प्रहरीमा उजुरी दिनु परेको उनले बताए।
उनले पाण्डे विरुद्ध जिल्ला प्रशासन कार्यालय दाङमा पनि उजुरी दिएको बताए। पाण्डेले पैसा नदिँदा बैङ्कको ब्याज, टिपरको किस्ता तिर्न पनि समस्या भएको उनले गुनासो गरे। व्यवसायी पाण्डेले आफू ऋणमा रहेकाले पैसा दिन नसकिएको बताए।
तुलसीपुरका मेयर घनश्याम पाण्डेका छोरा अनुप फोरलेनका ठेकेदार हुन्। तथ्य इन्जिनियरिङले जिम्मा लिएको फोरलेन सडक निर्माणका मुख्य व्यक्ति पाण्डे नै रहेको सडक डिभिजन कार्यालय दाङले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय दाङका जिल्ला प्रहरी प्रमुख एसपी सुरेशप्रसाद काफ्लेले पाण्डे विरुद्ध पीडित व्यवसायीबाट जाहेरी आएको र जाहेरी दर्ता हुने बताए। उनले अन्य ब्यबसायीहरुबाट पनि पाण्डेसहित मुख्य ठेकेदार विरुद्ध जाहेरी आइरहेको सुनाए।
उनले अदालतबाट अनुमति लिएर पाण्डेलाई पक्राउ गरी कानुनी दायरामा ल्याइने बताए।
जिल्ला प्रशासन कार्यालय दाङका सहायक प्रमुख जिल्ला अधिकारी साबीत्रा थापाले पाण्डेविरुद्ध मजदुरदेखि व्यवसायीले पैसा नपाएको गुनासोसहित उजुरी आइरहेको र उजुरी सङ्कलनपछि कानुनी दायरामा जाने बताइन। उनले पाण्डे विरुद्ध प्रशासनमा उजुरीको चाङ नै रहेको बताइन।
माघ १६, २०७८ आइतबार १३:२३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।