राष्ट्रपति र प्रधानमन्त्रीले भने, शहीदको आकाङ्क्षा साकार पारौँ

राष्ट्रपति र प्रधानमन्त्रीले भने, शहीदको आकाङ्क्षा साकार पारौँ
फाइल तस्बिर

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले सामाजिक न्यायसहितको समतामूलक र सभ्य समाज निर्माण गर्ने शहीदको आकाङ्क्षालाई साकार बनाउनु पर्ने बताएकी छन्।

शहीद दिवसका अवसरमा सन्देश दिँदै राष्ट्रपति भण्डारीले सम्पूर्ण राजनीतिक दल, आम जनसमुदाय र सम्बद्ध सबैलाई नेपाल राष्ट्र र नेपाली जनताको हित र अधिकारका लागि सहादत प्राप्त गरेका शहीदको आकाङ्क्षा साकार पार्न मन, वचन र कर्मले समर्पित हुने आँट र हौसला प्रदान गर्न सकोस् भनेकी छन्। 

यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाले व्यक्तिगत स्वार्थ नराखी समग्र मुलुकको विकास र रूपान्तरणका लागि अहोरात्र सङ्घर्षमा खटिने शहीदको सहादत, बलिदान र त्यागले नै मुलुकमा ठुला राजनीतिक परिवर्तन सफल भई आज जनताको शासन स्थापित हुन सकेको उल्लेख गरेका छन्।

शहीद दिवसका अवसरमा सन्देश दिँदै उनले विसं २००७ को एकतन्त्रीय जहानियाँ राणा शासनविरुद्धको क्रान्तिदेखि २०४६ मा प्रजातन्त्र पुनःस्थापनाका लागि भएको जनआन्दोलन तथा २०६२/६३ मा लोकतन्त्र स्थापनाका लागि भएको आन्दोलनलगायत विभिन्न राजनीतिक परिवर्तन शहीदकै त्याग, तपस्या र बलिदानबाट सफल भएको उल्लेख गरेका छन्। 

 

माघ १६, २०७८ आइतबार ०८:४५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।