कार्य व्यवस्थाको बैठक बोलाएका सभामुखले संसद् बैठक नै गरे स्थगित

कार्य व्यवस्थाको बैठक बोलाएका सभामुखले संसद् बैठक नै गरे स्थगित

काठमाडौं : प्रतिनिधि सभाको माघ १६ गते बस्ने बैठक २६ गतेका लागि सारिएको छ। सङ्घीय संसद् सचिवालयले सूचना निकालेर कोरोना सङ्क्रमणको जोखिम यथावत् रहेका कारण बैठक बस्ने मिति सारिएको जानकारी दिएको छ। 

पुस ७ गतेपछि प्रतिनिधि सभाको बैठक बस्न सकेको छैन। प्रतिनिधि सभाको बैठक स्थगित भएको यो समेत गरेर पाँच पटक भइसकेको छ। पाँचौँ पटकको बैठक भने कार्यसूची जारी भएपछि स्थगित गरिएको छ। 

सभामुख अग्नि सापकोटाले संसद् बैठक अगाडी कार्य व्यवस्था परामर्श समितिको बैठक बोलाएका थिए। आइतबार बिहान ११ बजेका लागि कार्य व्यवस्थाको बैठक बोलाएका सभामुख सापकोटाले बैठकको सम्भावित कार्यसूची प्रकाशित भएपछि बैठकको मिति १० दिन पर सारेका हुन्। 

भदौ २३ गतेदेखि सुरु भएको संसद् बैठक प्रतिपक्षी एमालेले अवरोध गर्दै आएको छ। संसद्को अवरोध हटाउन पार्टीले कारबाही गरेका १४ जना सांसदको पद निलम्बन गर्नुपर्ने या सभामुख सापकोटाले राजीनामा दिनु पर्ने अडान एमालेले राखेको छ। 

कार्यसूची प्रकाशित गरेर कार्य व्यवस्था समितिको बैठक बोलाएका सभामुख सापकोटाले अन्तिम समयमा कोरोना सङ्क्रमणका कारण भन्दै बैठक स्थगित भएको सूचना जारी गराए। 

सङ्घीय संसद् सचिवालयले भोलि आइतबारका लागि शहीद दिवसको सन्दर्भमा सम्पूर्ण ज्ञात अज्ञात शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्ने, थारु आयोगको वार्षिक प्रतिवेदन पेस गर्ने र शोक प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची प्रकाशित गरेको थियो।

माघ १५, २०७८ शनिबार २१:४२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।