वैशाखमै भए पनि चुनावबाट भाग्दैनौ : माधव नेपाल
निजामती कर्मचारी सङ्गठनको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले संविधानअनुसार हुने चुनाव आगामी वैशाखकै लागि तोकिए पनि भिड्न तयार रहेको बताएका हुन्।
उनले जनतामा जाने कुरालाई सहज ठानेको बताए। ‘चुनावलाई लिएर अरू आत्तिएका होलान्। तर, हामी आत्तिएको छैनौँ,’अध्यक्ष नेपालले भने,‘वैशाख, जेठ, असार अथवा असोजमै भए पनि चुनावको सामना गर्न तयार छौँ।’
उनले २०७४ सालमा तीन चरणमा स्थानीय तहको चुनाव भएको भन्दै पहिलो चरण वैशाख ३१ लाई आधार मानेर चुनावकाे मिति ताेक्नु विधिसम्मत नहुने बताए। उनले असोजको पहिलो र दोस्रो हप्ता चुनावको मिति तोक्नु उपयुक्त हुने बताए। नेपालले खर्चको हिसाबले तीनै तहको निर्वाचन एकै पटक गर्नु पर्ने बताए।
उनले वर्तमान सत्ता गठबन्धन आगामी निर्वाचनसम्म कायम रहने बताए। गठबन्धन कायम राख्न प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिबद्धता जाहेर गरेको अध्यक्ष नेपालले बताए।
‘गठबन्धन टुटाउन कांग्रेसभित्र र गठबन्धनमा देशी विदेशी शक्तिहरू लागिरहेका छन्। केपी ओली आफैँ गठबन्धन टुक्राउन दाउपेच फ्याँकिरहेका छन्,’उनले भने,‘ओली परिवर्तनको वाधक भइसके।’
देशमा अहिले दुई वटा गठबन्धन देखा परेको नेपालले बताए। उनले बाम लोकतान्त्रिक गठबन्धन र दक्षिणपन्थी शक्तिहरूको गठबन्धन दुई वटा गठबन्धन देखा परेको उल्लेख गरे।
माघ १५, २०७८ शनिबार १४:४८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।